पर्यटन उकास्ने हो भने

समाधान संवाददाता २०७७ असोज १२ गते ८:५७

सम्पादकीय

सामान्य अवस्था हुन्थ्यो भने ४१ औं विश्व पर्यटन दिवसको छेकोमा हिजो थुप्रै कार्यक्रम हुन्थे होला । २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवस हो । तर यो दिवस उल्लासमय भएन । हुन सकेन ।

प्रदेशको पर्यटन मन्त्रालयले भर्चुअल अन्तक्र्रिया ग-यो र एउटा अर्काे कार्यक्रम फेवा किनारमा ट्रेकिङ एजेन्ट्स एसोसियएसन अफ नेपाल (टान)ले आयोजना ग¥यो ।

Advertisement

अरु केही कार्यक्रम भए । तर ठूलो सभा समारोह हुन पाएनन् । अझ पोखरा आएका पर्यटकलाई फूलको गुच्छा दिएर स्वागत हुँदै आएको पोहोर परारको दृश्य यसपालि दोहोरिन पाएन । जगजाहेर छ, कोरोना भाइरस रोग कोभिडको महामारी फैलिएको छ । मुख्य कुरा त्यसैबाट जोगिनुपर्नेछ ।

मानवीय आवतजावतबिना पर्यटन कल्पना गर्न सकिन्न र कोरोना भाइरस फैलने कारण फेरि मानवीय आवतजावत नै हो । यस्तो विरोधाभाषकै कारण पर्यटन क्षेत्र शून्य र सुनसान भयो ।

Advertisement

अहिले विश्वमै सबैभन्दा चपेटामा परेको क्षेत्र यही हो । विस्तारै सार्वजनिक यातायातका क्षेत्र खुलेका छन् । अन्तर्राष्ट्रिय हवाई सेवा खुला भएको छ ।

अब पालो पर्यटन क्षेत्रकै हो । एकताका कोरोनाको केन्द्रबिन्दु बनेका युरोपेली मुलुकहरु विस्तारै तंग्रिए र अहिले त्यहाँ पनि पर्यटन क्षेत्र खुला भइसक्यो । पूर्वी एसियाली मुलुकहरु भियतनाम, थाइल्यान्ड, जापानले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्दै होटल र रेस्टुराँहरु खोलिसके । अब नेपालले त्यही बाटो नसमाती धरै छैन ।

विश्व पर्यटनलाई हेर्दा पनि सबै देशमा मुख्यभार आन्तरिक पर्यटनकै देखिन्छ । नेपालमा चाहिँ पर्यटक भनेकै गोरो छाला भएका पश्चिमी देशका नागरिक भन्ने बुझाइ धेरै गडेको छ । जुन विस्तारै उखेलिँदै पनि जाँदै थियो । गइसकेको चाहिँ छैन ।

कहिले मुलुकमा चलेको सशस्त्र द्वन्द्वका कारण त कहिले यस्तै महामारीले फेरि पनि पुष्टि गरेको छ कि पर्यटनको मुख्य आधार आन्तरिक पर्यटन नै हो । त्यसपछि छिमेकी मुलुक र अनि मात्रै तेस्रो मुलुक ताक्नु बाञ्छनीय छ । यसै पनि द्वन्द्वका बेलाको धरातलीय यथार्थबाट नेपाली स्वयं परिचित थिए र उनीहरुलाई कहाँ कहाँ जानु ठिक हुन्छ भनेर आफै निर्णय लिन सक्ने अवस्था थियो ।

मिडियामा प्रचारित झैं प्रत्येक दिन प्रत्येक ठाउँमा गोली चल्ने र बम पड्कने अवस्थाचाहिँ होइन है भन्ने स्वयं नेपाली आफैंले बाहेक अरुले बुझ्ने कुरा थिएन । कोभिड १९ का बेला पनि त्यस्तै हो ।

अहिले पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाएर नेपालका कुनाकन्दरा घुमफिर गर्न सकिन्छ भन्ने नेपालीलाई जति अरु कसलाई थाहा होला ? तसर्थ पर्यटन क्षेत्रले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्छ र सरकारले पनि त्यही कुरामा सघाउनुपर्छ ।

पेड होलिडेजस्ता कार्यक्रम ल्याउने र निजी क्षेत्रलाई पनि ल्याउन अह्राउने काम पनि सरकारकै हो । यो बेला झन् सहरभन्दा गाउँघर र डाँडाकाँडा घुमफिर उपयुक्त हुन्छ ।

प्रकृतिसँग नजिकिने अवसरका रुपमा अहिलेको बेलालाई सदुपयोग गर्न सकिन्छ । नेपाल प्राकृतिक छटामा धनी भएको सन्देश विश्वभरि नै छ, यही कुरालाई क्यास गरे विस्तारै छिमेकी र तेस्रो मुलुकका पर्यटन भिœयाउन सकिन्छ । तर कुराले चिउरा भिज्दैन । काम त केही गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया