पोखरा महानगरपालिकाको ‘मनोमानी’ प्रति ११ वडाध्यक्षको चिन्ता

समाधान संवाददाता २०७७ असोज १२ गते ९:४२
sdr

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै पछिल्ला गतिविधिप्रति ध्यानाकर्षणभएको जनाएका हुन् ।

Advertisement

११ जना वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले आइतबार विज्ञप्ति जारी गरी महानगरपालिकामा आस्थाकै आधारमा राम्रो काम गर्ने कर्मचारी कारवाहीमा परेको र नराम्रो काम गर्ने
कर्मचारी संरक्षित बनेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषयलाई उजागर गर्ने स्पष्ट र इमानदार लेखा प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा निन्दा गरिएको छ ।

Advertisement

स्पष्टीकरण सोध्दा प्रमुख प्रशासकीय अधिकृतबाट सोध्नुपर्नेमा नियम विपरीत महानगर प्रमुखबाट सोधिनु आर्थिक अनियमितता ढाकछोप गर्न प्रपञ्च रचिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक आस्थाका आधारमा गरिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा विभिन्न कार्यक्रमका नाममा महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा
गरिएको छ ।

पोखरा महानगरका वडामध्ये २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।

तपाईको प्रतिक्रिया