भेटरिनरीको ९ करोड ३२ लाखको कार्यक्रम

समाधान संवाददाता, पोखरा
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले पुराना कामलाई प्राथमिकता दिँदै नयाँ योजना तथा कार्यक्रम सहित आर्थिक वर्ष २०७७÷२०७८ को स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यालय प्रमुख डा शोभा शर्माले केन्द्रले २०७७÷०७८ मा ९ करोड ३२ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको हो ।
बजेटमा पुँजीगत खर्च कार्यक्रममा २ करोड २७ लाख ६० हजार र चालुतर्फ ७ करोड ४ लाख ९१ हजार खर्च गर्ने जानकारी दिइन् ।
आगामी वर्षभैंसी विकास, दुधमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, पशुपंक्षी बिमा तथा सुरक्षणमा प्रिमियममा २५ प्रतिशत अनुदान प्रदान गरिने उल्लेख गर्दै उनले साना व्यावसायिक फार्म स्थापना तथा विस्तारमा खर्च गर्नेयोजना रहेको बताइन् ।
कार्यालयले सामुदायिक तथा छाडा कुकुरलाई बन्ध्याकरण तथा खोप कार्यक्रम, डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रम गर्न लागेको छ ।
मासु पसल तथा डेरी पसलमा असल अभ्यास स्टिकर वितरण कार्यक्रम र पशुमा पूर्ण खोप कार्यक्रम यस आर्थिक वर्षदेखि सुरु गर्न लागेको उनले उल्लेख गरे ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले कृषि तथा पशुपालन पेसामा लाग्न पशुको जात राम्रो हुनुपर्ने, खाना र बजारीकरण, प्राविधि विस्तार गर्नुपर्ने उल्लेख गरे । उनले गण्डकी प्रदेशमा दूध र मासुमा आत्म निर्भर भइसकेको बताए ।
कार्यालयले गत आव २०७६÷०७७ मा भेटरिनरी हस्पिटलले ९७.४९ प्रतिशत भौतिक प्रगति र ९५.०७ वित्तीय प्रगति गरेको छ ।
लागत न्यूनीकरण र उत्पादन वृद्धिको आधारमा उन्नत प्रविधिको विकास र प्रसार नारा सहित भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखा प्रमुख डा ऋषिराम सापकोटा, पोखरा महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारी,भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत डा सपनालक्ष्मी घिमिरे, अधिकृत (प्रशासन) ठाकुर ढकाल, कुखुरा पालक संघ कास्कीका अध्यक्ष यज्ञ गुरुङ, मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्दप्रसाद तिवारी, पत्रकार डा रामचन्द्र वराल, नेपाल किसान संघ कास्की, बंगुरपालक कृषक संघका प्रतिनिधि शोभाखर भण्डारी लगायत वक्ताले बोलेका थिए ।
तपाईको प्रतिक्रिया