महानगरमा अनलाइनबाटै कृषक वर्गीकरण, यसरी भर्नुस् फारम

समाधान संवाददाता २०७७ असोज १३ गते ८:०९

समाधान संवाददाता
पोखरा १२ असोज

पोखरा महानगरपालिकाले कृषकको वर्गीकरण अनलाइनमार्फत गर्न थालेको छ । महानगरमा रहेका सम्पूर्ण कृषकलाई परिचयपत्र वितरण गर्न अनलाइन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरले तयार पारेको वेबसाइट apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । सोमबार महानगरका प्रमुख मानबहादुर जिसीले वेबसाइट क्लिक गरी अभियाको शुभारम्भ गरे ।

Advertisement

मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा बोल्दै महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने वाध्यता अन्त्यका लागि अनलाइन फारमको व्यवस्था गरिएको बताए ।

कृषकहरुले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको उनले बताए । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेस गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ थियो । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाटै काम गर्दा छरितो पनि हुने उनको धारणा थियो ।

कृषि क्षेत्रमा संलग्न कृषकहरुलाई संलग्न तालिकामा दिए अनुसारको विवरण अनलाइनबाट भर्न उनले अनुरोध गरे । कृषकहरुले पेस गरेको विवरण सम्बन्धित वार्डले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु बिकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचय पत्र नम्बर र वर्गीकरण सहितको कार्ड प्राप्त गर्ने उनले जानकारी दिए ।

उक्त कार्यविधिमा केही परिवर्तन भएकोले विगतमा कार्ड लिएका कृषकहरले पनि पुनफर्म भर्न उनले अनुरोध गरेका छन् ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया