कोरोना जिते, मृत्यु जित्न सकेनन्

समाधान संवाददाता २०७७ असोज १३ गते १७:२७

समाधान संवाददाता
पोखरा, १३ असोज

स्याङ्जाको वालिङका एक कोरोना संक्रमित पुरुषकाे निको भइसकेपछि निधन भएको छ । वालिङ नगरपालिका ४ एलादीका ४३ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो ।

७ असोजमा कोरोना पुष्टि भएका ती पुरुषको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिए । एलादीकै होमस्टेमा आइसोलेसनमा बसेका उनको राति मृत्यु भएको हो ।

Advertisement

‘भारतबाट असोज ५ गते आएपछि स्वाब लिएका थियौं । २ दिनपछि पोजेटिभ आयो,’ उनले समाधानसँग भने, ‘हिजो दोस्रोपटक स्वाब लिएर पठाएकोमा बेलकुा मृत्यु भयो । आज नेगेटिभ रिपोर्ट आयो ।’

पाण्डेका अनुसार मेडिकल रिपोर्टमा ती पुरुषको दुवै मृगौलाले काम गर्न छोडेको देखिएको छ । उपचारका लागि उनी भारत गएकोमा अस्पतालले फर्काइ दिएपछि गाउँ आएका थिए ।

Advertisement

‘कोरोनालाई जितिसकेपछि मृत्यु भयो । कोरोना जित्नुभयो तर मृगौलासम्बन्धी समस्यालाई जित्न सक्नुभएन,’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने ।

नगरपालिकाको व्यवस्थापनमा उनको शव परिवारले अन्त्येष्टि गरेको सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया