पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रेमनारायण नियुक्त

समाधान संवाददाता २०७७ असोज १४ गते २२:१८

समाधान संवाददाता, पोखरा

प्राडा चिरञ्जीवी शर्मा पोखरा विश्वविद्यालयको उपकुलपति (भिसी)बाट अवकास भएको १ वर्षपछि सरकारले उनको उत्तराधिकारीमा प्राडा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ ।

पोखरा विश्वविद्यालय ऐन अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई पोविवि भिसी नियुक्त गरेका हुन् । उक्त ऐन अनुसार प्रधानमन्त्रीद्वारा गठित समितिको सिफारिसमा नियुक्त गरिएको पत्र अर्यालले बुधबार बालुवाटार पुगेरै बुझेका थिए ।

Advertisement

सरकारले ३ दिनअघि मात्रै सुदूरपश्चिम र संस्कृत विश्वविद्यालयमा भिसी नियुक्त गरेको थियो । सोही दिन पोखरामा पनि नियुक्तिको चर्चा थियो । तर सत्तारुढ पार्टीभित्रकै खटपटका कारण अर्यालले बुधबारमात्रै नियुक्ति पाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले विश्वविद्यालयमा भिसी लगायत पदाधिकारीका लागि प्रतिपक्ष कांग्रेससँग पनि भागबन्डा मिलाएको छ । २ विश्वविद्यालयमा आफूनिकट र एउटामा कांग्रेसनिकट भिसी नियुक्तिको सहमति सरकारले जुटाएको हो ।

Advertisement

नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा. यादवप्रकाश लामिछाने र कृषि र वन विश्वविद्यालय चितवनमा डा. पुण्य रेग्मी उपकुलपति नियुक्त भएका छन् । लामिछाने र रेग्मी दुवै सत्तारुढ दल नेकपा निकट हुन् ।

प्रधानमन्त्री केपी ओलीले पोखरा विश्वविद्यालय भिसी नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्यालको नाम लिएका थिए । ३९ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका अर्यालको जन्म गुल्मीमा भएको हो । उनी हुर्के बढेको भने चितवनमा हो । अहिले भने काठमाडौंका बासिन्दा हुन् ।

काठमाडौं सामुदायिक शिक्षा क्याम्पसका संस्थापक उनी त्रिवि केन्द्रीय क्याम्पसको सदस्य सचिव (अचेल प्रिन्सिपल भनिन्छ) रहिसकेका छन् । उनी २०५४ सालमा पब्लिक क्याम्पस संघको अध्यक्ष भएका थिए ।

उच्चस्तरीय शिक्षा आयोग, नेसनल फेडेरेसन अफ युनेस्को क्लब अफ नेपालका पूर्वअध्यक्ष अर्याल नेपाल खुला विश्वविद्यालयको सिनेटर छन् । पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विषय समिति अध्यक्ष रहिसकेका उनी नेपाल शिक्षाशास्त्री समाजको संस्थापकमध्ये एक हुन् । अहिले उनी उक्त समाजमा अध्यक्ष छन् ।

शैक्षिक अनुसन्धान तथा सामाजिक विकास केन्द्रको अध्यक्ष, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका अध्यक्ष अर्यालको विद्यावारिधिको विषय प्रारम्भिक बाल विकास हो । वनारस हिन्दु विश्वविद्यालय भारतबाट उनले विद्यावारिधि उपाधि लिएका हुन् ।

६६ वर्षे अर्याल पोखरा विश्वविद्यालयमा अरु पदाधिकारी रिक्त रहेको र परीक्षाहरुसमेत हुन नसकेकोबारे आफू जानकार रहेको बताउँछन् । ‘सबैको सहमति जुटाएर विश्वविद्यालयलाई अघि लैजानुपर्छ,’ उनले भने ।

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त नहुँदा डिन नियुक्ति, संयुक्त कलेजका निर्देशक नियुक्ति, कर्मचारी नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत प्रभावित भएका थिए ।

लकडाउनमा अनलाइन कक्षा सञ्चालन गर्ने योजना पनि उपकुलपति नहुँदा अघि बढ्न सकेको थिएन । १५ दिनदेखि अनलाइन कक्षा भइरहेको छ ।

तत्कालीन उपकुलपति प्राडा शर्माको कार्यकाल पोहोर असोज पहिलो हप्ता सकिएलगत्तै विज्ञान संकायका डिन बुद्धिराज जोशीले ३ महिनालाई निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए ।

जोशीपछि मानविकी संकायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाए । प्राडा तिवारीले उमेरहदका कारण वैशाखमा अवकास पाएका थिए ।

झन्डै दुईतिहाई बहुमत प्राप्त सरकारका पालामा पनि विश्वविद्यालय पदाधिकारीविहीन र लथालिंग हुँदा हैरान विद्यार्थी विद्यार्थी अनसन बस्न र सडक प्रदर्शन गर्न बाध्य भएका थिए । विश्वविद्यालयबाट ८ वटै सेमेस्टर सकेका विद्यार्थीको दीक्षान्त समारोह गत फागुनमा हुनुपर्ने थियो ।

कुलपति र रजिस्ट्रार नहुँदा समारोह हुन सकेन । पास भएका ७ हजार विद्यार्थी ट्रान्सक्रिप्ट र सर्टिफिकेट नपाउँदा शैक्षिक बेरोजगार बनेका छन् ।

उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र संकाय लगायतका डिनको पद रिक्त छ ।

व्यवस्थापन संकायमा भने प्राध्यापक हरिबहादुर खड्का डिन छन् । स्कुल अफ डेभलप्मेन्ट एन्ड सोसल इन्जिनियरिङबाहेक अरु ३ संयुक्त आंगिक कलेजमा निर्देशक पनि छैनन् ।

पोखरा विश्वविद्यालयका ४ आंगिक, ४ संयुक्त आंगिक र देशभर ५८ वटासम्बन्धन प्राप्त कलेज छन् ।

भिसी कांग्रेसको भागमा परेपछि अब रजिस्ट्रारमा भने सत्तारुढ नेकपा निकट प्राध्यापकको दाबी छ ।

पोखरा विश्वविद्यालयमा व्यवस्थापनका डीन रहिसकेका दीपक भण्डारी र परीक्षा नियन्त्रक रहिसकेका भरत ढुंगानामध्ये एकजना रजिस्ट्रार बन्नसक्ने चर्चा पोविविभित्र छ । भिसी विश्वविद्यालयको समग्र प्रमुख हुने भए पनि प्रशासनिक प्रमुख भने रजिस्ट्रार हुन्छ ।

तपाईको प्रतिक्रिया