पाेखरा महानगरमा मनामानी राेक्न कांग्रेसले बुझायो ज्ञापनपत्र

समाधान संवाददाता २०७७ असोज १५ गते ७:२९

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकामा भएको आर्थिक अनियमितता, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ ।

नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र कांगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिए ।

Advertisement

ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखाप्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखाप्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ । यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक आस्थाका आधारमा गरिएको प्रति नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा गरिएको छ ।

Advertisement

यसैगरी, हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपको घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतक परिवारलाई अनुरुप राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ । वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकोले तत्काल मर्मत गर्न आग्रह गरिएको छ । यसअघि, कांग्रेसतर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।

तपाईको प्रतिक्रिया