ज्येष्ठ नागरिक दिवसमा नगर मातापिता सम्मानित

समाधान संवाददाता २०७७ असोज १६ गते ९:१२

समाधान संवाददाता, पोखरा

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४ वर्षीय तेजबहादुर गुरुङलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई उनीहरुकै घरमा पुगेर सम्मान गरेको हो ।

Advertisement

पोखरा ११ रानीपैवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये २ जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा महानगरपालिकाका प्रमुख जिसीले हाम्रो आनीबानी र खानपानमा ख्याल नगर्दा आफ्नो आयु आफैंले घटाइहेको बताए । ‘नियमित अनुशासनमा बस्ने र खानपानमा ख्याल गर्ने हो भने आयु बढ्छ भन्ने मेरो विश्वास छ,’ जिसीले भने ।

उनले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए । ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने भनाइ उनको थियो ।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताइन् ।

स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै यस आर्थिक वर्षबाट पोखरा महानगरपालिकाभित्र सार्वजनिक यातायातको भाडा निशुल्क गर्ने गरी २० लाख रुपैंयाँ बजेट विनियोजन गरिएको उनले बताइन् ।

सम्मानित महानगर माता गिरीले आफ्नै घरमा सम्मानित हुन पाएकोमा खुशी लागेको प्रतिक्रिया दिइन् । आफनै घरमा सम्मान हुने अवसर प्राप्त गरे,’ उनले भन्नुभयो, तपाईहरु सबैको राम्रो होस ।’

वडा नम्बर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखद भएको बताउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायुको कामना गरे । कार्यपालिका सदस्य सन्तु सुवेदीले ज्येष्ठ नागरिकलाई अपमान र हेयको दृष्टिले हेर्न नहुने बताइन् ।

वडा नम्बर ११ अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा नगर सदस्य तीथकुमारी गुरुङ र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपाने निरौनाले ज्येष्ठ नागरिकको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया