युवा संघ मुस्ताङको इन्चार्जमा गौचन

समाधान संवाददाता २०७७ असोज १६ गते १६:२८

एसके थकाली, जोमसोम

राष्ट्रिय युवा संघ नेपालको बिहिबार काठमाडौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ ।

संघका केन्द्रिय संयोजक क. रामप्रसाद सापकोटा (दीपशिखा) को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्ने क्रममा गौचनलाई मुस्ताङ इन्चार्जको रुपमा चयन गरेको हो ।

Advertisement

बैठकले यसअघि भएको राष्ट्रिय एकता भेला तथा केन्द्रिय कमिटीले दिएको म्याण्डेट अनुसार संगठनको संगठनात्मक एकताको निर्णय बमोजिम गौचनलाई ईञ्चार्जको जिम्मेवारी निर्वाह गर्न सर्कुलर गरेको छ । युवा संघ नेपालको बैठकले मुस्ताङका लागि सहइन्चार्जको रुपमा भोजबहादुर थापालाई समेत जिम्मेवारी तोकेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका—४ घासाका स्थानीय सम्राट गौचनको राजनितिक यात्रा २०६२/०६३ सालको जनआन्दोलनदेखि सुरु भएको हो । गौचन जनआन्दोलनपछि नेकपा(एमाले) समर्थित युवा संघको युथ फोर्स विभागको सदस्य र ललितपुर जिल्ला वडा—१५ को युथ फोर्स कोषाध्यक्ष भई जनआन्दोलनको अगुवाई गरेका थिए ।

Advertisement

२०६९ सालमा युवा संघको बुटवल महाधिवेशनबाट संघको लेखा आयोग सदस्यको रुपमा काम गरे भने २०७४ सालमा पुष्पलाल प्रतिष्ठानमा भएको राष्ट्रिय युवा संघको बैठकबाट केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।

२०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टी एकिकरणपछि राष्ट्रिय युवा संघ नेपालको पूर्ण गठित केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया