‘कोरोना रिपोर्ट नभई मजदुरी पनि पाइएन’

समाधान संवाददाता २०७७ असोज १६ गते २१:२३

अनुप आत्रेय
पोखरा, १६ असोज

बर्दियाका नारायण थापालाई पिसिआर नेगेटिभ रिपोर्ट लिएर म्याग्दी जानु छ । काम गर्न घर छोडेका थापा शुक्रबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेटिए ।

कोरोना परीक्षण गराउन उनी १० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छिरेका रहेछन् ।

Advertisement

परीक्षणलाई २ हजार रुपैयाँ बुझाएपछि उनी स्वाब दिने पर्खाइमा थिए । पोखरामा अन्त जाने ठाउँ कतै थिएन । कोरोना प्रयोगशाला नजिकैको आइसोलेसन छिर्ने ठाउँ अघि बसे ।

साढे १ बजे उनी स्वाब दिने लाइनमा थिए । हातमा स्वाब झिक्ने स्टिक थियो । उनीजस्तै अरु पनि स्वाब दिने पर्खाइमा थिए ।

Advertisement

कसैलाई २/३ दिनमै पोखरा छोड्नु थियो । कसैलाई काममा जानु । नारायणलाई पनि कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर मजदुरी गर्न म्याग्दी पुग्नु थियो । उनीसँगै गाउँका अरु ८ दाजुभाइ थिए ।

आठैजनाले घर छोडेको शुक्रबार ४ दिन भइसक्यो । बर्दियाबाट पोखरा आउन १८ सय रुपैयाँ लाग्यो । पोखराबाट म्याग्दी पुग्न ३ सय ५० खर्चिए । तर यी ९ दाजुभाइ म्याग्दी छिर्नै पाएनन् ।

कोरोना परीक्षण गराउन पुगेकाहरु

पर्वत र म्याग्दीको सीमामा बसेका प्रहरीले उनीहरुलाई छिर्न दिएनन् । त्यहाँ खटिएका प्रहरीले भने – १४ दिन क्वारेन्टाइन बस्नु वा पिसिआर नेगेटिभ भएको रिपोर्ट देखाउनु ।

८ दाजुभाइ अलमलमा परे । छलफल गरे । निक्र्यौल निस्कियो – क्वारेन्टाइनमा १४ दिन बिताउनुभन्दा कोरोना परीक्षण गरौँ ।

‘क्वारेन्टाइनमा १४ दिन बसेपछि पनि परीक्षण गर्नु नै पर्छ । बरु छिट्टै नेगेटिभ भएको रिपोर्ट पाए काममा जान पाइन्छ भनेर पोखरा फर्कियौं,’ नारायणले सुनाए ।

९ जनालाई काम पाइन्छ/पाइँदैन भन्ने थाहा छैन । म्याग्दीको कुन ठाउँ जाने पनि थाहा छैन । गाउँकै साथीले काम पाइन्छ भनेपछि ९ दाजुभाइ म्याग्दी हानिएका हुन् ।

‘घरमा बसिराख्नुभन्दा काम गरेको ठिक भनेर आएका हौं । साथीले तातोपानी भन्थ्यो,’ उनले थपे, ‘आर्थिक स्थितिले पनि सतायो । गाडी खुलेपछि हिँड्यौं । अब काम मिलिगए राम्रो हुन्थ्यो ।’

घरमा श्रीमती, १० वर्षकी छोरी र ८ वर्षका छोरा छोडेर आएकानारायणलाई कोरोनाको डर छैन । तर सचेत भने छन् । गोजीमा भएको स्यानिटाइजर झिकेर दलिरहन्छन् । लकडाउन अघिसम्म उनी गोरखामा भवन ठड्याउने काममा थिए ।

११ चैतमा लकडाउन भएपछि १६ चैतमा उनी घर फर्किए । जहाँ काम गर्थे त्यहीँबाट घर पु¥याइदिने व्यवस्था भयो । लकडाउन अघिसम्म काम गरेको ठाउँबाट पैसा आएको भए सयौँ डाँडा काटेर म्याग्दी पुग्ने थिएनन् ।

नारायणको अनुहारमा प्रष्ट देखिन्थ्यो – मनभित्र पीडा दबिएको छ । उनको अनुहार भाव बोल्छ – के भनौं, के नभनौं । काँधमा परिवारको जिम्मा बोकेका उनी भन्छन्, ‘आफ्नोभन्दा पनि अर्काका लागि बाँच्नु छ । बालबच्चा छन् । एक्लै भए त के हुन्थ्यो र ! उनीहरुलाई पाल्नै भए पनि आउनुप¥यो ।’

नारायणकै छिमेकी सोमप्रसाद चौधरीको पनि लकडाउन भएपछि काम गुम्यो । पाल्पामा निर्माणको काममा मजदुरी गर्ने उनी पनि घर फर्किए ।७ महिना घरमा बसेपछि काम खोज्न थाले ।

म्याग्दीमा काम पाइन्छ भनेपछि २९ वर्षका सोमप्रसादले पनि घर छोडे । ‘त्यहाँ छिर्नै दिएन । त्यसैले टेस्ट गर्न आएको । यति लामो लाइन छ । यहीँबाट सर्ने जस्तो…,’ यति भनेपछि उनी रोकिए ।

७ जनाको परिवार छोडेर काम खोज्न हिँडेका उनी यो वर्ष चाडपर्वमा घर फर्किने छैनन् । ‘चाडपर्व आउँदै छ । त्यति बेलासम्म २÷४ पैसा आइहाल्छ कि भनेर आको । पहिला त दसैंतिहार घरमै बसेर मनाइन्थ्यो । यो वर्ष पाइएन,’ उनले सुनाए ।

यी ९ दाजुभाइको टोली अस्पताल बाहिरको होटलमा २ वटा कोठामा बसेको छ । प्रतिदिन १ हजार कोठा भाडा तिरेका उनीहरु कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाएर म्याग्दी छिर्ने आसमा छन् ।

नारायण र सोमप्रसादजस्तै १ सयभन्दा बढी कोरोना परीक्षणका लागि दैनिक प्रयोगशाला पुग्ने गरेका छन् ।

शुक्रबार १ सय १० जनाको स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख डा. मोनी सुवेदीले जानकारी दिइन् ।

‘सधैं १ सयभन्दा बढी आउनुहुन्छ । २÷३ पहिला प्रहरीको भर्ती खुलेकाले अलि बढी हुनुहुन्थ्यो,’ उनले भनिन् । कोरोना परीक्षणका लागि अहिले आफूहरुलाई जनशक्तिको अभाव रहेको उनले बताइन् ।

४ जना कोरोना प्रयोगशालामा खटिएको र परीक्षण गराउन आउनेको संख्या बढिरहेकाले त्यो कम भएको उनले बताइन् ।

‘पहिला ४०/५० जना आउँदा ठिकै हुन्थ्यो । अहिले स्वाबको संख्या बढेकाले मेनपावर कम भएको छ । दसैं पनि आउन लाग्यो । अब झन् धेरै हुने होला,’ सुवेदीले भनिन् ।

विभिन्न जिल्लाले प्रवेशमा कडाइ गरेपछि कोरोना परीक्षण गराउन आउनेहरु बढेको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले बताए ।

‘म्याग्दी, मुस्ताङतिर पिसिआर नभई छिर्नै नदिने रहेछन् । त्यता जाने शिक्षक, कर्मचारी, मजदुर परीक्षणलाई आउनुभएको छ,’ आचार्यले भने ।

उनकाअनुसार सरकारले पिसिआर परीक्षणको शुल्क लिन थालेपछि २ हजार २२ जनाले पैसा तिरेर कोरोना परीक्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया