छोराको स्मृतिमा अक्षयकोष

समाधान संवाददाता २०७७ असोज १८ गते १०:४९

समाधान संवाददाता, पोखरा

रामबजार घर भई बेलायत बस्दै आएका प्रेमबहादुर विक र कमला विकले छोराको स्मृतिमा पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा अक्षय कोष स्थापना गरेका छन् ।

छोरा दीपकको पाँचौ वार्षिक पुण्यतिथि पारेर शनिबार कोष स्थापना गरिएको हो।

Advertisement

न्यून आय भएका, गरिब, जेहेन्दार विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्दे आएकाका छोरछोरीको पढाइमा सहयोग पुर्‍याउन भन्दै विक दम्पत्तीले १ लाख १ हजार एकसय ११ रुपैयाँको कोष स्थापना गरेको हो ।

विक परिवारबाट स्वर्गीय दिपकका हजुरबुवा जंगबीर विश्वकर्माले नगदै रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीलाई हस्तान्तरण गरे । साथै कोष सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

दीपकका काका शिवलाल विश्वकर्माले कोषले थोरै मात्रामा भए पनि लक्षित विद्यार्थीको हितमा सहयोगी बन्ने विश्वास गरे । कोषको दुरुपयोग नहुनेमा पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो ।

‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित नहोउन भन्ने चाहना हो,’ उनले भने ।

अक्षय कोष स्थापना कार्यक्रममा पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले भावना अनुसार लक्षित विद्यार्थी लाभान्वित भएमात्र कोषको सार्थकता पूरा हुने बताए । सहयोगी दाताको भावनालाई आत्मसात् गर्दै कोष सञ्चालन हुने उनले जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले कोषको रकमको सही सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिवद्धता जनाए । सरकारी विद्यालयमा सहयोगी हातहरु फैलदै गएको भन्दै उनले खुसी व्यक्त गरे ।

प्रधानाध्यापक गुरुदत्त कोइरालाका अनुसार विद्यालयमा अधिकांश विद्यार्थी न्यून आय भएका, दैनिक ज्याला मजदुरी गर्नेका छोराछोरी रहेका छन ।

कतिपयले शैक्षिक सामग्रीको जोहोसमेत गर्न नसक्ने अवस्था भएपछि विद्यालयले त्यस्ता विद्यार्थीको भर्नालगायत, शैक्षिक सामग्री, ड्रेस, छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । तर विद्यालयसंग नियमित आम्दानीको स्रोत नभएपछि नियमावली बनाएर अक्षय कोष स्थापना गरिएको हो ।

२०७५ माघबाट सुरु कोषमा अहिलेसम्म झन्डै ३३ लाख रुपैया“ जम्मा भइसकेको छ । ‘यही रकमको ब्याजले लक्षित विद्यार्थीको पठनपाठनको व्यवस्थापन गर्छौं,’ उनले भने, ‘अक्षय कोषमा उत्साहजनक सहभागिताले विद्यालय उत्साहित छ ।

तपाईको प्रतिक्रिया