पोखरा २३ मा पनि अब पिच सडक

समाधान संवाददाता २०७७ असोज १८ गते १२:३०

समाधान संवाददाता, पोखरा

गत वर्ष मंसिरमा आयोजना भएको थियो, ‘चापाकोट सांस्कृतिक महोत्सव’ । महोत्सवको दोस्रो दिनका प्रमुख अतिथि थिए, प्रदेश सांसद राजीव पहारी । त्यस दिन पानी परेको थियो ।

पहारी चढेको गाडी मुस्किलले महोत्सवस्थल पुग्यो । महोत्सवको चर्चा गरेपछि उनले मन्तव्यका क्रममा एउटा उद्घोष गरे, ‘अब यो वडामा एक मिटर भए पनि म पिच सडक निर्माण गर्छु ।’ हुन पनि पोखरा महानगरपालिकामा एक मिटर पनि पिच नभएको एउटामात्रै वडा २३ नम्बर हो ।

Advertisement

सांसद पहारीले गरेको त्यो प्रण पूरा हुने भएको छ । पहारीले पोखरा २३ बाम्दीफेदीमा शनिबार पिच सडक निर्माणको शिलान्यास गरेका छन् । लौरुकदेखि बाम्दी सडक पिच गर्ने योजना गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीबाट निर्माण हुन लागेको हो ।

योजनाका लागि सांसद पहारीले पहल गरेका थिए । ४५ लाख रुपैयाँको टेन्डर आह्वान गरिएकोमा ३४ लाख ४७ हजार रुपैयाँमा टिबी कन्स्ट्रक्सन एन्ड बिल्डर्ससँग असोज ६ गते सम्झौता गरिएको जानकारी पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर दिनेश घिमिरेले जानकारी दिए ।

Advertisement

सांसद पहारीले निर्वाचनअघि गरेको सबै बाचा अबको २ वर्षभित्र पूरा भइसक्ने बताए । उनले शनिबार सुरु गरिएको पिच सडक निर्माणलाई वडा नम्बर २२ पुम्दीसम्मै पु¥याउनुपर्ने पनि सुनाए ।

उनले लेकसाइडदेखि पञ्चासेसम्म पुग्ने सडक पिच हुने क्रममा रहेको तथा खहरे खोला र पामेमा पुल निर्माण हुने जानकारी पनि दिए । पहारीले स्थानीयलाई सम्बोधन गर्दै भने, ‘जनताको चाहना अनुसारका योजनामा म लाग्छु, मलाई अरु केही चाहिन्न, तपाईंहरुको साथ र आशीर्वाद भए पुग्छ ।’

सांसद पहारीले फेवाताल संरक्षण गर्न पनि जलाधार क्षेत्रका सडकहरु पक्की र व्यवस्थित बनाउनुपर्ने बताए । जथाभावी खनिएका कच्ची सडक र पहिरोका कारण फेवातालमा माटो र गेग्रान भरिएको उनको भनाइ थियो ।

‘माथिल्लो क्षेत्र संरक्षण नगरी फेवाताल संरक्षण हुँदैन, त्यसैले माथिल्लो क्षेत्रका सबै ठाउँमा व्यवस्थित सडक बन्नुपर्छ, म त्यसैमा लागेको छु,’ उनले भने । फेवातालकै कारण हुने आम्दानीको वास्तविक हकदार माथिल्लो क्षेत्रका बासिन्दा भएको पनि उनको भनाइ थियो ।

अहिलेलाई ३ सय मिटर सडक पिच गर्न लागिएको योजनाको सम्झौता म्याद ४ महिना छ । तर निर्माण कम्पनी टिबी बिल्डर्सका सञ्चालक विनोद भण्डारीले सरासर काम गर्न पाए २ महिनामै काम सक्ने सुनाए ।

पूर्वाधार कार्यालय प्रमुख घिमिरेका अनुसार उक्त पिच सडक निर्माण योजनामा नाली, पर्खाल लगायत काम पनि हुनेछन् । प्रिमिक्स प्रकारको पिच उक्त सडकमा हुनेछ ।

पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीले सडक र सिँचाइ पुगेपछि गाउँमा उत्पादन पनि बढ्नुपर्नेमा जोड दिए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख किरण आचार्य, स्थानीय लोकनाथ पराजुली लगायतले पनि पिच सडक शिलान्यस समारोहमा मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया