कोरोनाको उच्च जोखिममा कास्की कारागारका कैदीबन्दी

समाधान संवाददाता, पोखरा
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को संक्रमण बढेको जटिल अवस्थामा थुनुवा तथा बन्दीहरुलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ परिपालना गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।
क्षमताभन्दा ३ गुणासम्म थुनुवा र बन्दी रहेका कारागार कोभिड १९ को सक्रमणका दृष्टिले उच्च जोखिममा रहेको दाबी गर्दै आयोगले वर्तमान जटिल अवस्थालाई बुझेर बन्दीहरुलाई मानवीय व्यवहार गर्न निर्देशन दिएको हो ।
आयोगका सदस्य सुदिप पाठकले सरकारले सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको अवस्थामा थुनुवा तथा बन्दी र आप्रवासी कामदार सक्रमणका दृष्टिले उच्च जोखिमका नागरिक भएको बताए ।
क्षमता भन्दा बढी थुनुवा तथा बन्दी भएकोले कारागारमा २ मिटरको सामाजिक दुरी कायम गर्न कठिनाई उल्लेख गर्दै उनले उपचारको लागि अस्पताल तथा वयानको लागि अदालत लैजादा विशेष ध्यान दिन निर्देशन दिए ।
‘सक्रमणका दृष्टिले कारागार उच्च जोखिम छन्,’ आयुक्त पाठकले भने, ‘थुनुवा तथा बन्दीहरुको स्वास्थ्य सुरक्षाको लागि कारागार प्रशासन सचेत र उदार बन्न पर्छ ।’ कारागार कार्यालय कास्कीको शनिबार अनुगमनको क्रममा उनले विशेष अवस्थामा विशेष काम गर्न सुझाव दिए ।
राज्य नियन्त्रित अवस्था रहेका उनीहरुलाई अस्पताल तथा अदालती प्रक्रियामा लैजाँदा बाहिरी सम्पर्क हुनसक्ने उल्लेख गर्दै आयुक्त पाठकले कारागारबाट बाहिर निकालेकाहरुलाई समूहमा नछोडेर छुट्टै व्यवस्थापन गर्न आग्रह गरे ।
थुनुवा तथा बन्दीहरुको आन्तरिक व्यवस्थापन, सेवा सुविधामा विस्तार, अभिलेख व्यवस्थापन र सुधारमा ध्यान दिन आग्रह गर्दै उनले सरकारले नियमित सिदावाहेक झोलिलो र पोषिलो खाना व्यवस्था गर्नु पर्ने माग गरे ।
‘कारागार प्रशासनबाट बन्दीहरु मनोवल बढाउन के के काम भयो,’उनले भने, ‘रोग प्रतिरोधी क्षमता बढाउन ध्यान, योग अभ्यास, सकारात्मक सोंचको तालिमको के कस्ता व्यवस्था गरियो ।’
आयुक्त पाठकले कारागारको चैत अगाडि र चैत पछाडिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनले कारागारमा खाद्यान्य लैजाने प्रक्रिया, बन्दीहरुलाई पारिवारिक भेटघाट व्यवस्था बारेमासमेत जिज्ञासा उठाएका थिए ।
उनले गत असोज ५ देखि इलामबाट कारागारको अनुगमन सुरुवात गरेको जानकारी दिँदै कोभिड १९ को परिस्थितिमा थुनुवा तथा बन्दीहरुको मानव अधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरी असोज २८ गते नेपाल सरकारलाई बुझाउने बताए ।
कारागार कार्यालय कास्कीका प्रमुख केशव लामिछानेले प्रशासनले उच्च स्वास्थ्य सुरक्षा अपनाएको कारण कोभिड १९ बाट सबै सुरक्षित रहेको बताए ।
उनले कुनै पनि थुनुवा तथा बन्दीहरुलाई कोभिड १९ को लक्षण नदेखिएको उल्लेख गरे ।
बाहिरबाट सरुवा भएर आउनेको लागि १५ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको जानकारी दिँदै उनले पारिवारिक भेटघाट पूर्ण रुपमा बन्द भएको अवस्थामा जाडो समयमको लत्ता कपडा र पैसा प्रतीक्षालयको बाकसमा राखेर सुरक्षित रुपमा लैजाने व्यवस्था गरेको उल्लेख गरे ।
उनले ४ सय २० क्षमता रहेको कास्की कारागारमा ९ सय २८ थुनुवा तथा बन्दी रहेको जनाए ।
उनले थुनुवा र बन्दीहरु बीच भौतिक दुरी कायम गर्न, हात धुने नियमित सरसफाईको बारेमा नियमित छलफल भएको जनाए ।
कारागारको ब्लक ए र बीमा आइसोलेसन बनाउन तयार रहेको उल्लेख गर्दै उनले महिला ब्लक साँघुरो भएकोले संक्रमित भए घुम्ती शौचालयको आवश्यक पर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले गृह मन्त्रालयको निर्देशनमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको कारण कारागार अहिलेसम्म सुरक्षित रहेको जनाए ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलयका निर्देशक दिपकजंग ध्वज कार्कीले मुद्दा दर्ता देखि कारागार लैजादासम्म सुरक्षा मापदण्ड अपनाउनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहन्यायाधिवक्ता गुरुदत्त वाग्ले, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रोहितराज बास्तोला, कास्की जिल्ला बार एसोसिएसनका अध्यक्ष मुक्तिनाथ सापकोटा लगायतले अभियुक्तहरुलाई हिरासतका राख्ने व्यवस्था र वयान लिँदा अपनाइने स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया