मार्फा र जोमसोमका होटल तत्काल नखुल्ने

समाधान संवाददाता २०७७ असोज १९ गते ८:१७

एसके थकाली, जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका मार्फा, जोमसोम र पुथाङ एयरपोर्टका पर्यटन तथा होटल व्यवसायीले अहिलेको अवस्थामा होटल नखोल्ने निर्णय गरेका छन् ।

पर्यटक आउने सिजनको अन्त्य हुन लागेको र कोभिड १९को सक्रमण जोखिम यथावत रहेको भन्दै उनीहरुले तत्कालको लागि होटल नखोल्ने निर्णय गरेका हुन् ।

Advertisement

पर्यटन व्यवस्थापन उपसमिति सदस्य जितेन्द्र शेरचनले स्वास्थ सुरक्षा मापदण्ड अपनाएर पिसिआर रिपोर्टका आधारमा फागुन १ गते पछिमात्र पर्यटक राख्न सकिने बताए ।

उनले पालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल व्यवसाय सञ्चालन गर्ने कार्ययोजना बनाएर व्यवसायीलाई अनुशिक्षणसमेत नगरेको उल्लेख गरे ।

Advertisement

गाउँपालिका अध्यक्ष आशबहादुर थकालीको पहलमा सरोकारवालाको बैठकमा व्यवसायीहरुले फागुन १ गते अगाडी होटल खोल्न नसक्ने जानकारी गराएका थिए ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले विद्यमान अवस्थामा होटल सञ्चालन गर्दा घातक हुन सक्ने बताए ।

कोभिड—१९को जोखिम कम नभएको उल्लेख गर्दै उनले कर्मचारी समेत घर घर गएकोले होटल खोल्न नसक्ने प्रतिक्रिया दिए ।

जिल्ला समन्वय समिति मुस्ताङले होटलहरु खोल्ने या नखोल्नेबारे निर्णय गरी पठाउन सबै पालिकाहरुलाई परिपत्र गरेको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत कागबेनी गाउँसमाजले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल खोल्ने प्रस्ताव पालिकालाई पठाएको छ ।

मुक्तिनाथ रानीपौवा गाउँसमाजले पालिकालाई होटल खोल्न नहुने सुझाव दिएको छ ।

थासाङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका होटल खोल्ने या नखोल्नेबारे निर्णय भएको छैन ।

मुस्ताङ जाने सडक खुलेको छ । स्याउ, आलु च्याङग्रा किन्ने व्यापारीको चहल पहल बढेको छ ।

विगतको दसैं तिहारमा स्वदेशी विदेही पर्यटकको चाप बढी हुने मुस्ताङमा कोभिड १९को कारण पर्यटन आगमन शून्य छ ।

तपाईको प्रतिक्रिया