केसी कि कम्युनिस्टका माग
सम्पादकीय
मुलुकमा कम्युनिस्टको झन्डै दुईतिहाई बहुमतको सरकार छ । जुन कम्युनिस्टको आधारभूत नारा हो, शिक्षा र स्वास्थ्यमा आधारभूत जनताको पहुँचा ।
शिक्षा र स्वास्थ्यमा राज्यको लगानी हुनुपर्छ र यी क्षेत्रमा निजीकरण हुनुहुँदैन भन्ने सिद्धान्तै कम्युनिस्टको हो, गोविन्द केसीको होइन र उनी कम्युनिस्ट पनि होइनन् । तर सत्तामा रहेको कम्युनिस्ट पार्टी स्वास्थ्यमा आधारभूत जनताको पहुँच पुर्याउन रत्तिभर चिन्तित देखिन्न, बरु धुपौरे पुँजीपतिहरुलाई स्वास्थ्य र शिक्षाको तालाचाबी सुम्पिन तयार छ, डा. गोविन्द केसी भने जनताका छोराछोरीको पहुँचमा चिकित्सा शिक्षा हुनुपर्यो भनेर अनसन बसेको बस्यै छन् ।
यसपालिको उनको अनसन २३ औं दिन पुग्दा स्वास्थ्य कमजोर भएको छ । ज्यानै जोखिममा छ ।
बिहे नगरेका र सन्तान पनि नभएका यिनको शोकसुर्ता आफ्ना लागि होइन, केवल पहुँच नभएका नागरिकका लागि हो । तर सरकार कानमा तेल हालेर बसेको छ र डा. केसीलाई पागल सावित गर्न कोसिस गर्दैछ ।
हुन पनि उनी एकप्रकारले पागल सावित भएका छन्, जसलाई व्यक्तिगत कुनै मनोकांक्षा छैन, केवल चिकित्सा शिक्षा सुधारको एकमात्रै कामना छ ।
राणा र पञ्चायती शासकहरु पनि यस्ता अहिंसावादीप्रति यति साह्रो क्रुर थिएनन् तर सत्तामा मैमत्त भएकाहरुलाई उनको सत्याग्रहले कत्ति पनि छोएको देखिन्न, पूरै संवेदनहीन र उदासीन देखिन्छन् ।
८ वर्षयता डा. गोविन्द केसी कहिले समूहसहित त कहिले एक्लै यही एउटामात्रै मुद्दा लिएर लडिरहेका छन् ।
समाज यस्तो संवेदनहीन भइसकेछ कि सत्तामा बस्नेहरुले जस्तै आम बुद्धिजीवी र नागरिक अगुवाहरु पनि डा. केसीका माग र उनको सत्याग्रहप्रति क्रूर मौनता साँधिरहेका छन् ।
बस औपचारिकता बस उनीसँग कतिपयले भेटघाट गरेर समर्थन जनाए पनि सरकारलाई घच्घच्याउने गरी कुनै कदम चालेका छैनन् । उनको समर्थनमा बरु स्वस्फूर्त राजधानी र पोखरा लगायत सहरमा केही युवा सडकमा देखिन्छन् ।
यस्तै स्वस्फूर्त युवाहरु ससानो समूह संगठित बन्दै जाँदा नै आन्दोलनको आँधीबेहरी सिर्जना हुने हो, आखिर हिजो निरंकुश राजतन्त्रका विरुद्ध दलहरुले नै गरेको आन्दोलन पनि यस्तै ससानो झुन्डहरुको ससानो प्रदर्शन र विरोधबाट सुरु भएको न हो ।
यति हेक्का हिजो आन्दोलनमा र आज सत्तामा भएकाहरुलाई हुनुपर्छ ।
कम्युनिस्टले आफ्नै सिद्धान्त कार्यान्वयनमा ध्यान पु¥याउनुपर्ने, तिनका कार्यकर्ताले सरकारले ध्यानाकर्षण गराउनुपर्नेमा उल्टै डा. केसीको सत्तोसरापमा बिताएर आफूहरुलाई भयंकर ठूलो पाखण्डी भएको सावित गरेका छन् ।
इतिहासले यस्तो बिडम्वनालाई निकै खेदपूर्ण रुपमा अभिलेखीकरण गर्नेछ ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पालि अनसन बसेका केसी काठमाडौं आउन राजी हुनु उनी वार्ता र संवादको बाटो हिँड्न तयार रहेको संकेत थियो । तर सरकारले बलात उनलाई अनिच्छित ठाउँमा ठिंगुर्याएर गलाउने कुत्सित हर्कत गरिरहेको छ । जुन, अत्यन्तै दुखड र बिडम्वनायुक्त छ ।
सरकारले आफू हिँडिरहेको उल्टो बाटोबाट डा. केसीले देखाइरहेको सुल्टो बाटोमा फर्कनुको विकल्प छैन् ।
झन् कोरोना भाइरस महामारीले स्वास्थ्यमा राज्यको बलियो उपस्थिति अत्यावश्यक हुने पुष्टि गरिरहेका बेला डा. केसीका माग पूरा गरी स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधार ल्याउन बिलम्व नगर्नुपर्ने हो ।
तपाईको प्रतिक्रिया