मुस्ताङबाट सुरु भयो लामो दुरीको यातायात

एसके थकाली, जोमसोम
मुस्ताङमा झन्डै ७ महिनापछि लामो दुरीको यातायात बस सेवा सञ्चालनमा आएको छ ।
कोरोना भाइरस (कोभिड—१९) कारण सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेसँगै मुस्ताङबाट पोखरा—काठमाडौं, सुनौली, भैरहवा लगायत ठाउँका लागि छुट्ने बस सेवा ठप्प थियो ।
सरकारले १ असोजदेखि हवाई तथा लामो दुरीका यातायात संचालन गर्न पाउने निर्णय गरेसँगै घोडाघोडी यातायात प्रालि तथा म्याग्दी कोरला यातायात प्रालिको बस सोमबार मुस्ताङ आएको घोडाघोडी यातायात प्रालि मुस्ताङकी प्रतिनिधि सुनदेवी रसाइलीले जानकारी दिइन् ।
मुस्ताङमा लामो दुरीको यातायात संचालन गर्ने तयारी कम्पनीहरुले गरेसँगै ३ दिन अघिनै मुस्ताङमा लामो दुरीको टिकट बुकिङ काउन्टर खुलेको थियो ।
लामो दुरीको यातायात सञ्चालन गर्न सरकारले तोकेको आवश्यक सुरक्षा मापदण्ड अपनाएर आफूहरुले सेवा प्रवाह थालेको रसाइलीले बताइन् ।
उनका अनुसार कम्पनीले बसका चालक/सहचालकलाई कोभिड—१९ रोकथामका चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
बसलाई काठमाडौंबाट मुस्ताङ आउँदा र मुस्ताङ जाने क्रममा गाडी पूरै डिसइन्फेक्सन गरी सञ्चालनमा ल्याइएको छ । ३२ सिटको बसमा १४ सिटमा मात्र यात्रु राखिएको प्रतिनिधि रसाइलीले बताइन् ।
सरकारले बसभित्र भौतिक दुरी कायम गर्नु पर्ने र त्यसका लागि ५० प्रतिशत भाडा वृद्धि गर्न पाउने प्रावधान अनुसार भाडादर ५० प्रतिशत वृद्धि भएको छ ।
उनका अनुसार काठमाडौं–मुस्ताङका लागि साविक भाडादर १ हजार ७ सय ५० मा वृद्धि गरी २ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ ।
पोखराबाट मुस्ताङका लागि छुट्ने लामो दुरीको म्याग्दी—कोरला यातायात प्रालिले सोमबारदेखि यातायात बस सेवा सञ्चालनमा ल्याएको मुस्ताङ प्रतिनिधि पेमा छेतेन विकले जानकारी दिए ।
दसैंको मुखमा मुस्ताङमा लामोदुरीका यातायात सेवा सञ्चालनमा आएपछि स्थानीय, कर्मचारी, शिक्षक, जनप्रतिनिधि र सुरक्षा निकाय लगायतमा खुसी छाएको छ ।
बेनी—जोमसोम ७६ किमी सडकमा बाढीपहिरो र नदी कटानका कारण लामो समय अवरुद्ध रहेको र कोभिडका कारण सरकारी पास, यातायात सेवा नहुँदा सर्वसाधारणलाई आउजाउमा समस्या परेको थियो ।
घोडाघोडी यातायातका बस चालक राजन पुरीले बेनी—जोमसोम अप्ठेरो र जोखिमयुक्त सडक भए पनि जिल्लाका सर्वसाधारणलाई आउजाउमा समस्या भएकाले सुरक्षाका विधि अपनाएर बस संचालनमा ल्याएको बताए ।
बेनी—जोमसोम सडकमा ठाउँठाउँमा सडकको दुरावस्था रहेकाले सम्बन्धित निकायले छिटोछरितो स्तरोन्नति गरिदिए सहज हुने उनको भनाइ छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया