स्याङ्जाका दिलीपको मोटरसाइकल दुर्घटनामा मृत्यु
समाधान संवाददाता
२०७७ असोज २२ गते १७:३२

समाधान संवाददाता, पोखरा
मोटरसाइकल दुर्घटनामा परेर पोखरामा एक युवकको मृत्यु भएको छ । पोखरा ६ बुलौदीमा हल्लनचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा स्याङ्जाका दिलीप गुरुङको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । गुरुङ चढेको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोकिएको डिएसपी हमालले बताए ।
स्थायी घर स्याङ्जा बिरुवा गाउँपालिका–८ भएपनि उनी पोखरा १७ नयाँगाउँ डेरामा बस्दै आएका थिए । दुर्घटनामा परेका गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनी कुन शिलशिलामा पोखरा बस्दै आएका थिए र राति किन बाहिर निस्किए भन्ने बारे केही नखुलेको डिएसपी हमालले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया