योजनामा अदुरदर्शिता

समाधान संवाददाता २०७७ असोज २३ गते ०:००

सम्पादकीय

सेती नदी पोखराको अधिकांश भागमा लुक्दै लुक्दै बगेको छ । लुकेको सेती हेर्न पर्यटक लोभिन्छन् ।

बगरभन्दा माथि दीपमा सेती खोंच हेर्ने एउटा ठाउँमा बाक्लै पर्यटक पुग्छन्, महेन्द्रपुल पृथ्वीचोकका पुलहरुबाट हेर्नलाई जोखिम हुन्छ ।

सेतीलाई पनि एउटा पर्यटकीय गन्तव्य बनाउने योजना प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ल्याएको थियो । महेन्द्रपुलमा सिसाको पुल बनाउने र पर्यटकले सेती खोंच हेर्ने योजना आफैंमा आकर्षक थियो ।

अघिल्लो आर्थिक वर्ष यो योजनाका लागि प्रदेशबाट ५० लाख रुपैयाँ बजेट पनि विनियोजन भयो । उपभोक्ता समिति पनि गठन भयो ।

सेतीको महेन्द्रपुलसँगै भएको खालि जमिन स्थानीयले सरसफाइ पनि गरे । त्यहाँ जमानमा कोठे साँघु थियो र त्यो ठाउँलाई अहिले पनि रैथाने पोखरेलीहरु साँघुको मुखका नामले चिन्छन् ।

महेन्द्रपुलमा सिसाको पुल बनेको भए मुलुककै पहिलो त्यस्तो पुल हुने थियो । तर यसपालिको बजेटबाटै यो योजना काटिएको छ । अब लगभग त्यस्तो पुल तत्काल नबन्ने निश्चित भयो ।

त्यस्तो किन भयो त ?

सिसाको पुल योजनाको डिपिआर बनाउने जानकार कोही पाइएन भन्छ प्रदेशको पर्यटन मन्त्रालय । अर्काेतर्फ त्यस्तो पुल बनाउने प्राविधिक मुलुकमा छैनन् भन्ने पनि मन्त्रालयको अर्काे जवाफ हो ।

हो, यति कुरा त्यस्तो योजना बनाउनुअघि नै भेउ नपाउनु भनेको अदुरदर्शिता हो । योजना बनाउँदा कार्यान्वयन गर्न सकिन्छ कि सकिन्न भन्ने ख्याल गर्नुपथ्र्याे ।

त्यस्तो ख्याल नगर्नु मन्त्रालयको कमजोरी हो । जनतालाई सपना देखाउने तर कार्यान्वयन भने नगर्ने नेपाली राजनीतिको विकृत अनुहार यहाँ पनि देखियो । एकीकृत शासन व्यवस्थाभन्दा पृथक होला प्रदेश भनेको त्यस्तो भएन ।

यसबाट प्रदेश सरकारकै वजनलाई हल्का बनाएको छ । भविष्यका लागि यसलाई पाठका रुपमा लिनुपर्छ ।

अदुरदर्शितासँगै अर्काे अहम् प्रश्न के हो भने नेपालमा आवश्यक जनशक्ति नभएकैले योजना अघि नबढ्ने हो भने मुलुकमा विकास र समृद्धि आउँदैन । हरेक नयाँ काम गर्दा आवश्यक दक्ष जनशक्ति मुलुकमा नभेटिनु नयाँ कुरा होइन, स्वाभाविक हो ।

अरु त अरु मुलुकमा सर्वाेच्च अदालत स्थापना गर्दा पनि न्यायाधीश बनाउन लायक व्यक्ति पाइएको थिएन, भारतबाट ल्याएर प्रधानन्यायाधीश बनाउनुपरेको थियो । साहित्य र कला अनि संगीतका ज्ञानीमानीहरु मुलुकबाहिरबाट ल्याएको तथ्य पनि सबै सामु छ ।

राणाकै पालामा दक्षिण एसियामै पहिलोपटक नेपालमा जलविद्युत आयोजना सुरु गर्दा कोलकाताबाट इन्जिनियर मगाइएको थियो । नेपालमा विद्यालय शिक्षाको अभियानै चलाउँदा शिक्षक हुँदैनथे र विदेशबाटै ल्याउनुपरेको थियो ।

अहिले संसारमै सबैभन्दा धेरै सिसाका पुल बनाएको मुलुक चीन हो । चीनमा पनि सिसाको पुल बनाउने स्वदेशी प्राविधिक थिएनन् । उसले विदेशबाटै प्राविधिक लगेर बनायो ।

त्यसैले प्राविधिक भएनन्, जानकार भएनन् भन्नुभन्दा पनि त्यसका लागि उपाय खोजी गरियो कि गरिएन भन्ने हो । र, योजना कार्यान्वयनका लागि मन्त्री र मन्त्रालयमा दृढ इच्छाशक्ति थियो कि थिएन भन्ने हो ।

दृढ इच्छाशक्ति नभएर यस्ता थुप्रै योजना कागजमा सीमित भएका छन् । बाँकी कुरा बहानामात्रै हुन् ।

तपाईको प्रतिक्रिया