सिडिओसहितको टोलीले गर्यो उत्तरी सीमाको अनुगमन

एसके थकाली, जोमसोम
जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाईमा उत्तरी क्षेत्रको सीमा नाकाको निरिक्षण तथा अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा नेपाल प्रहरी सशस्त्र प्रहरी वल र स्थानीय जनप्रतिनिधि सम्मिलित टोलीले पहिलोपल्ट सीमानाकाको अनुगमन गरेको हो ।
उपल्लो मुस्ताङ अन्र्तगत लोमान्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकासंग चीनको स्वशासितक्षेत्र तिब्बत जोडिएको छ । त्यहाँ मुस्ताङ र तिब्बततर्फ १६ वटा सीमा स्तम्भ पर्छन् ।
ती सीमा स्तम्भहरु २०१६ साल देखि २०१९ सालको सेरोफेरोमा स्थापना भएको हो । उत्तरी सीमाक्षेत्रको १८ देखि तल छिमेकी जिल्ला डोल्पा र ३३ नम्बर सीमा स्तम्भ देखि माथी गोर्खा जिल्ला पर्छ ।
मुस्ताङ पर्ने १६ वटै सीमा स्तम्भको टोलीले हेरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सिडिओ पौडेलले तिब्बतसंग जोडिएको १६ मध्ये १३ वटा सीमास्तम्भको अवलोकन गरेको जानकारी दिइन् ।
‘१६ मध्ये ३३ नम्बर सीमास्तम्भको कहाँ, कुन स्थानमा कस्तो अवस्थामा छ भन्ने तथ्य फेला पर्न सकेन,’सिडिओ पौडेलले भनिन्, ‘अहिले पत्ता लाग्न नसकेको ३३ नम्बर सीमा स्तम्भको आगामी दिनमा खोजी कार्य जारी रहने छ ।’
टोलीले १८ देखि ३० नम्बरसम्मको १३ वटा सीमा स्तम्भको अवलोकन गरेको जानकारी दिदै उनले अवलोकन गरिएका सबै सीमा स्तम्भ सुरक्षित बताइन् ।
सीमाका ३१,३२ र ३३ नम्बरका स्तम्भ मध्ये यस भन्दा अगाडी ३१ र ३२ स्तम्भ बोर्डर आउट पोस्ट पुगिसकेको उल्लेख गर्दै उनले अब कोही पुग्न नसकेको ३३ नम्बर सीमा स्तम्भलाई खोज्ने काम हुने जानकारी दिइन् ।
समुन्द्री सतहदेखि करिब ५ हजारमिटरको उचाईमा रहेको मुस्ताङको उत्तरी सीमा स्तम्भमा १८ देखि ३३ नम्बर अंकित १६ सीमा स्तम्भ छन्।
तिमध्ये राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्र्तगत २४ नम्बर पिल्लर चिन र नेपालको ट्रान्जिट प्वाईन्ट हो ।
प्रशासनिकस्तरबाट भएको सीमा स्तम्भ अनुगमन तथा निरिक्षणमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीसहित लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुर्वणकुमार बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल बिष्टको सहभागिता रहेको थियो ।
मुस्ताङतर्फ ६० वर्ष पहिले सीमा स्तम्भ राखिएको हो । २ दिनसम्म मोटरसाईकल चढेर तथा पैदलै हिडेर सीमा स्तम्भको अवलोकन गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष बिष्टले जानकारी दिए ।
अध्यक्ष बिष्टले सिडिओ पौडेलले उपल्लो मुस्ताङको भौगोलिक विकटता र जोखिमयुक्त स्थानको साहसिक र चुनौतिपूर्ण बोर्डर अवलोकन गर्नु गौरवको विषय भएको बताए ।
कोरलानाकामा सीमा सुरक्षाको लागि चिनीयाँ पक्षले २४ सै घण्टा सुरक्षाकर्मी खटाएको छ ।
नेपाल सरकारले गत जेठ १५ गते लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालयको क्वारेन्टाईन भवनमा बोर्डर आउट पोष्ट (बिओपी)स्थापना गरेको छ ।
बिओपी युनिटमा खटिएका सुरक्षाकर्मीले सीमाक्षेत्रको नियमित गस्ती गरिरहेका छन । बिओपीले हालसम्म १८ देखि ३२ नम्बर सीमा स्तम्भको अनुगमन गरेको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक आनन्द थापामगरले जानकारी दिए ।
उनले पत्ता लाग्न नसकेको ३३ नम्बर सीमास्तम्भको खोजी गर्न पहल गर्ने जनाए ।
कोरलानाकाको करिब १० किलोमिटर यता सशस्त्रको बिओपी स्थापना भएको छ । त्यहाँ सशस्त्र प्रहरीको कमाण्डमा २० जना सुरक्षाकर्मी खटाइएको छ ।
गोर्खा जिल्लासँग सीमाना जोडिएको ३३ नम्बर सीमा स्तम्भ भौगोलिक रुपमा अत्यन्तै विकट, कठिन र चुनौतीपूर्ण स्थानमा छ । जुन सीमास्तम्भ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूर्वतर्फ छ ।
त्यहाँ पुग्न हप्ता दिन पैदल यात्रा गर्नु पर्छ ।
३३ नम्बर सीमा स्तम्भमा हालसम्म बिओपी तथा सीमा क्षेत्रका जनता समेत पुग्न सकेका छैनन । त्यस स्तम्भलाई चिन नेपालको आपसी समन्वयमा खोजी गर्नु पर्ने अवस्था छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया