‘अभिभावकको सहमतिमा शुल्क उठाउन निर्देशन’

समाधान संवाददाता, पोखरा
लकडाउनले बन्द बोर्डिङ स्कुल (संस्थागत)लाई असार देखि अनलाइन कक्षा चलाउन अनुमति प्रदान गरेको पोखरा महानगरपालिकाले त्यति वेला देखि नै अभिभावकबाट शुल्क लिन सैद्वान्तिक सहमति दिएको छ ।
अनलाइन कक्षा चलाएसंगै अभिभावकको चित्त बुझाएर शुल्न लिन निर्देशन दिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाई कमिटीको आठौं अधिवेशनको उद्घाटन गर्दै मेयर जिसीले वैकल्पिक शिक्षाको रुपमा अनलाइन कक्षा चलाउन र शुल्क उठाउन देशभरीकै महानगर मध्ये पहिलो निर्णय गरेको दावी गरे ।
‘सञ्चालकको फाइदालाई मात्र नहेरीश्रमजीवीको चुलो बाल्न सहयोग पुगोस भनेर निर्णय गरेका हौं,’मेयर जिसीले भने, ‘काठमाडौ, भरतपुर बिराटनगर महानपालिकाले कुनै निर्णय गर्न सकेका छैनन् ।’
महानगरले वैकल्पिक शिक्षाको लागि स्वअध्ययन सामाग्री तयार पारेको उल्लेख गर्दै मेयर जिसीले स्थानीय टेलिभिजन मार्फत पोखरा शैक्षिक अभियान चलाएको उल्लेख गरे ।
नेपाल मेयर जिसीले संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई न्युनतम सेवा सुविधा प्रदान गर्नु पर्ने बताए ।
‘विद्यालयमा काम गर्ने श्रमजीवीले श्रम गरे वापतकोे मुल्य पाउनु पर्छ,’उनले भने, ‘काम गरेको तलब नदिने हो भने किन व्यक्तिलाई काममा लगाउने हो ?’ मेयर जिसीले निजी विद्यालयलाई जवाफदेही र जिम्मेवार बनाउन महानगर लागि परेको उल्लेख गरे ।
सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधार गरेर बलियो नबनाउदासम्म आधारभुततहका जनता शिक्षाको हक सुनिश्चित नहुने मेयर जिसीको भनाई छ ।
यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले निजी तथा आवासीय विद्यालयमा कार्यरत १ लाख ५० हजार यातायात मजदुरको रोजगारी, सेवा सुविधा मुल समस्याको रुपमा रहेको बताए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङले स्थानीय सरकारले श्रमिकहरुको सूचिकृत गर्ने जिम्मेवारी पुरा नगरेको उल्लेख गरिन् ।
जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल यातायात मजदुर संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, निजी तथा आवायीय विद्यालय अर्गनाइजेसन (प्याव्सन)कास्कीका उपाध्यक्ष राम गुरुङ, युनिप्स कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनका उपाध्यक्ष शिवलाल उपाध्याय, संगठनका पोखरा महानगर कमिटीका अध्यक्ष मदनकुमार सुनार, निजी तथा संस्थागत विद्यालय विद्यालय इकाई कमिटीका इञ्चार्ज दिपक रोकामगर, अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष सुर्यबहादुर विक, सचिव कृष्ण बास्तोलाले बोलेका थिए ।
तपाईको प्रतिक्रिया