आयोजनाबाट प्रभावित जनताका लागि सामुदायिक विकास कार्यक्रम

तनहुँ, रासस
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल गरेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ ।
उक्त क्षेत्रमा आयोजनाबाट सात वटा झोलुङ्गे पुल, २० वटा गोरेटो बाटो, नौ वटा दाहसंस्कार स्थल, दुई वटा विद्युत् वितरण लाइन र दुई वटा कुलो प्रभावित भएको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक परामर्शदाताका प्रशासकीय अधिकृत उद्धव पौडेलले जानकारी दिए।
ती भौतिक संरचना निर्माण गर्दा करिब रु साढे २ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
भौतिक संरचना निर्माणमा स्थानीयवासीलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
त्यसैगरी आयोजनाबाट प्रभावित एक हजारभन्दा बढी व्यक्तिलाई सीपमूलक तालीम प्रदान गर्ने योजना छ ।
उनले भने,‘उनीहरुको आयस्तर उकासिने किसिमका तालीम प्रदान गर्ने लक्ष्य छ,’ ।
त्यसैगरी जिल्लाको भिमादनगरपालिका–५ साउनेपानी र ऋषिङपाटन जोड्ने अन्टयाङ खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको छ ।
पुलको डिजाइन र इष्टिमेट बनाउन थालिएको छ । उनले भने,‘भिमाद नगरपालिका कार्यालयसँग समन्वय गरी काम गर्ने योजना रहेको छ ।’
जिल्लालाई एक वर्षभित्र उज्यालो तनहुँ बनाउने गरी विद्युत् विस्तार कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ ।
ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली पु¥याउने गरी सवस्टेशन निर्माण र लाइन तान्ने कार्य भैरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया