मुस्ताङमै महंगियो भेडाच्यांग्रा

एसके थकाली, जोमसोम
कोरोना भाइरसको जोखिम यथावत रहिरहेका बेला मुस्ताङमा भेडाच्यांग्राको व्यापार गर्मिन थालेको छ ।
भेडाच्यांग्रा किन्न जिल्ला बाहिरका व्यापारीहरु यसवर्ष पशुपालक किसानको खोरखोरमै धाउन थालेका छन् ।
बिहिबारसम्म करिब ३ दर्जन बढी भेडाच्यांग्रा व्यापारी मुस्ताङ आएका छन् ।
पोखरा—काठमाडौं लगायतका सहरमा पु¥याउने उद्देश्यले भेडाच्यांग्रा किन्न व्यापारीहरु जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् ।
कोरोना माहामारीका कारण उत्तरी कारला नाकाबाट तिब्बती भेडाच्यांग्रा नआएपछि मुस्ताङका किसानले पालेको स्थानीय भेडाच्यांग्राको मूल्य बढेको छ ।
उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेगमा पालिएका भेडाच्यांग्रा स्थानीयले जोमसोम ल्याएर बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु खोरमा पुगेर किन्न थालेपछि स्थानीय भेडाच्यांग्राको भाउ बढेको हो ।
भेडा—च्याङ्ग्रा किन्न पोखरा, काठमाडाैँ, पर्वत, तनहुँ, स्याङ्जा, बाग्लुङ र म्याग्दी लगायतका जिल्लाबाट मुस्ताङ आएका हुन् ।
गत वर्ष मुस्ताङबाट २३ हजार भेडाच्यांग्रा जिल्ला बाहिरिएको थियो ।
यसवर्ष कोरोनाका कारण गत वर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडाच्यांग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको जोमसोमका स्थानीय किसान भुपेन्द्र शेरचनले बताए ।
यसवर्ष तिब्बतबाट भेडाच्यांग्रा नआएकाले मुस्ताङमा च्यांग्राको भाउ महंगिएको उनले बताए ।
‘यो वर्ष एकदमै न्यून संख्यामा भेडाच्यांग्रा जोमसोम झरेको छ । मुस्ताङको ३ स्थानीय तहबाट करिब ७ हजार र डोल्पाबाट करिब १५ सय भेडाच्यांग्रा आउन सक्छ,’ शेरचनले भने ।
हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडाच्यांग्राको मासु स्वास्थ्यवद्र्धक र स्वादिलो हुने भएकाले यसको मासु रुचाइन्छ ।
भेडाच्यांग्राले हिमाली जडिबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिन्छ ।
यसवर्ष किसानले कोरोना कहरकै कारण पशुपालकले भेडाच्यांग्राको सुहाउँदो मुल्य पाएको शेरचनले बताए ।
‘गत वर्ष जोमसोममै खरिद बिक्री गर्ने प्रचलनले बिचौलियाले नाफा खाने चलन थियो,’ उनले भने ‘यस वर्ष व्यापारी किसानको खोरमै पुगेकाले बिचौलियाले खाने नाफा किसानलेनै पाएका छन् ।’
काठमाडौं नयाँ बसपार्कबाट भेडाच्यांग्रा किन्न मुस्ताङ आएका अर्जुन ठकुरी मूल्य बढेकाले बिक्री गर्न कठिन हुने बताउँछन् ।
‘यहाँको किसानको खोरमा ७/८ हजार मात्रै च्यांग्रा रहेछ,’ उनले भने, ‘पशुपालकको खोरमै च्यांग्राको मुल्य २७ देखि २८ हजारसम्म तिर्नु प-यो । ढुवानी जोडेर काठमाडौं पु-याउँदा छोइसक्नु हुँदैन ।’
जोमसोमका स्थानीयका अनुसार शुक्रबारसम्म जोमसोमबाट करिब ३ हजार भेडाच्यांग्रा बेंसी झरेका छन् ।
अब उपल्लो मुस्ताङबाट बढीमा ५ हजारको संख्यामा भेडाच्यांग्रा झर्ने अनुमान उनीहरको छ ।
म्याग्दी घाराका च्यांग्रा व्यापारी बलबहादुर बडुवालले मुस्ताङमै पर्याप्त भेडाच्यांग्रा नभएको बताए ।
उनले गत वर्ष १९ हजारमा रोजा च्याङ्ग्रा खरिद गरेको भएपनि यसवर्ष च्यांग्राको मुल्य सुन्दै सातो गएको सुनाए ।
‘गतवर्ष ९० गोटा भेडा च्याङ्ग्रा लिएको थिएँ । तर, च्यांग्राको मुल्य चर्को भएकाले अहिले ४५ गोटा च्यांग्रा मात्र किनेँ,’ उनले भने ।
मुस्ताङबाट झरेका भेडाच्यांग्रामध्ये ३ हजार च्यांग्रा पोखरामै खपत हुन्छ । करिब १५ सय च्यांग्रा काठमाडौं पुग्छ ।
त्यसबाहेक म्याग्दी, पर्वत, बाग्लुङबाटै खरिदबिक्री सुरु हुन्छ । उपल्लो मुस्ताङको लोमान्थाङमा ३ हजार, लोघेकरबाट २ हजार र वारागुङ मुक्तिक्षेत्रबाट २ हजार भेडाच्यांग्रा बिक्री भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।
कोरोनाले पर्यटन व्यवसाय सुस्ताए पनि मुस्ताङका कृषकले भेडाच्यांग्रा, स्याउ र आलु लगायतका कृषिजन्य वस्तुबाट राम्रो आम्दानी गरेको अध्यक्ष बिष्टले सुनाए ।
मुस्ताङका ३ स्थानीय तहका करिब ३ दर्जन गाउँमा भेडाच्यांग्रा पालिँदै आएको छ ।
पशुपंक्षीजन्य पदार्थको आन्तरिक ओसारपोसार तथा बिक्री वितरणका लागि पशु निरोगिताको भेटेरिनरी प्रमाणपत्र आवश्यकता पर्छ ।
यस वर्ष स्याउ परियोजना इकाई जोमसोम र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकले भेटेरिनरी प्रमाणपत्र उपलब्ध गराएको वरिष्ठ पशु चिकित्सक सुरेश थापाले जानकारी दिए ।
प्रतिगोटा भेडाच्यांग्राको रु २० का दरले प्रमाणपत्र दिएको उनले उल्लेख गरे ।
सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सरकारले भेटेरिनरी परिक्षण अनिवार्य गराएको पशु चिकित्सक डा. थापाको भनाइ छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले भेडाच्यांग्रा बिक्री गरेवापतको कर पशुपालकबाट प्रति गोटा ५ रुपैयाँको दरले उठाएको छ ।
वारागुङ मुक्तिक्षेत्रले भेडाच्यांग्रा निकासी करका लागि १ लाख ५० हजारमा टेन्डर गरेको छ ।
मुस्ताङमै भेडाच्यांग्राको मुल्य महंगिएपछि मुस्ताङीले भेडाच्यांग्रा किनेका छैनन् ।
तपाईको प्रतिक्रिया