लेकसाइडमा महिलाको सक्रियतामा बाटो पिच

समाधान संवाददाता २०७७ असोज २४ गते ११:१७

समाधान संवाददाता, पोखरा

पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा रहेको कच्ची सडक महिलाको नेतृत्वमा निर्माण भएको छ ।

पोखरा–६ लेकसाइडस्थित दृष्टि मार्गको नाममा परिचित सोनाम मार्ग महिलाको नेतृत्व र सक्रियतामा पिच बनेको हो ।

बाटो निर्माणको पहल पोखरा महानगरपालिका वडा नम्बर ६का सदस्य राममाया विश्वकर्माले गरेकी हुन् ।

बाटो निर्माणको सम्पूर्ण कार्य सरिता गिरी नेतृत्वको महिला समितिले गरेको हो ।

बाटो निर्माण गर्न बनेको सोनाममार्ग बाटो निर्माण समितिमा अध्यक्ष तथा पदाधिकारीसहित सम्पूर्ण कार्य समितिमा महिला मात्र छन् ।

महिलाले चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण दिन खोजेका हौं, ‘अध्यक्ष गिरीले भनिन्, ‘दिनरात खटेर कोभिड–१९ को बीच बाटो निर्माण गर्‍यौं ।’

उनले बाटो निर्माणमा स्थानिय केही विकास विरोधीहरुले अवरोध गर्न खोजे पनि त्यसलाई परास्त गरेर बाटो निर्माण गर्न सफल भएको बताइन् ।

बाटो निर्माण महिला बनाइरहँदा त्यसको सारथी गण्डकी प्रदेश प्रदेशसभाका सदस्य राजीव पहारी बने ।

बाटो निर्माणका लागि आवश्यक रकम नपुगेर बाटो अलपत्र बनेका बेला पहारीले खर्चको जोहो गरेर बाटो निर्माणको वातावरण बनाएको स्थानीय पर्यटन व्यवसायी कृष्ण आचार्यले बताए ।

बाटो निर्माणका क्रममा खर्च नपुग्दा बाटो अलपत्र थियो, प्रदेश सभा सदस्य पहारी आए र ठेकेदारलाई काम पुन सुरु गर्न निर्देशन दिँदै भने, ‘खर्चको जिम्मा मेरो भो,’ उनले भने ।

नभन्दै बाटो निर्माण सम्पन्न भयो र खर्चको जोहो पनि प्रदेश सभा सदस्य पहारीले प्रदेश सरकारबाट मिलाए ।

९० मिटरको सो ढलान सडक १० लाख रुपैयाँमा निर्माण गरिएकोमा प्रदेश सरकारबाट ३ लाख ५७ हजार प्राप्त भएको अध्यक्ष गिरीले जानकारी दिइन् ।

महिलाको नेतृत्वका बनेको सोनाम मार्ग बाटो समितिले कोभिड–१९ को असर र प्रभावकाबीच बाटो निर्माण सम्पन्न गरि शुक्रबार उद्घाटन गरिएको छ ।

बाटोको शुक्रबार गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले रिबन काटेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा सांसद पहारीले पोखरालाई स्मार्ट सिटी बनाउने हो भने त्यसको सुरुआत लेकसाइडबाट गर्नुपर्ने बताए ।

‘लेकसाइडलाई छाडेर पोखरा स्मार्ट सिटी हुनै सक्दैन,’ उनले भने ।

उनले लेकसाइड भित्र बाँकी रहेका अन्य कच्ची बाटोपनि २ वर्षभित्र बनाइछाड्ने उद्घोष गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष हरि पहारीले विकासमा अवरोध गर्न खोज्नेहरुलाई राज्यले दिने सुविधाबाट वञ्चित गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया