विकास निर्माणमा समन्वय गर
सम्पादकीय
जनसंख्यासँगै गाडीको चाप अत्यधिक बढेको पोखरामा ट्राफिक व्यवस्थापन चुनौती बनेको छ ।
मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने भनेको पनि थुपै्र भयो । पोखरा महानगरपालिकको अग्रसरमा सिर्जनाचोकमा आकासे पुल बनिरहेको छ । जग खनेको धेरैपछि अहिले फलामे पिलर ठड्याइएको छ । तर ती पिलरमा पुलको संरचना कहिले बस्ने हो केही निधो छैन ।
चारैतिर बिजुलीका ठूला ठूला पोल छन् । पोलसँगै एकातिर त ट्रान्सफर्मर पनि छ । अनि मेट्रो अस्पतालको आडैको चौतारीको पीपलको बोट छ ।
ती पोल सार्न र पीपलको हाँगा काट्ने काम कहिले हुने हो निधो छैन । पोहोर जेठमा सम्झौता भएर यही वर्षको साउनमा सक्ने भनिएको आकासे पुल अवधि सकिएको २ महिनासम्म पनि बनेको छैन ।
फलामका पोल प्रयोग गर्दा छिटो र सस्तो हुने भनिए पनि ठेकेदारको अलमल र अनि जिम्मेवार निकायको बेवास्ताले काम समयमै नसकिएको हो । ठेक्का दिने अनि काम भए नभएको बारेमा नियमित अनुगमन नगर्ने प्रवृत्तिले भित्रभित्रै मिलेमतोको आशंका पनि उब्जाएको हुन्छ ।
ठेक्का दिने अनि काम भए नभएको बारेमा नियमित अनुगमन नगर्ने प्रवृत्तिले भित्रभित्रै मिलेमतोको आशंका पनि उब्जाएको हुन्छ ।
यो पुल नेपालका विकास आयोजनाका एउटा सानो नमुना मात्र हो । जिम्मा पाएको ठेकेदारले तोकिएको समयभन्दा पहिला योजना हस्तान्तरण गरेको त कताकति मात्रै सुनिन्छ । नत्र १० तिर ठेक्का लिने अनि काम अलपत्र पार्ने त बहुल ठेकेदारको प्रवृत्ति नै हो ।
अहिले त कोरोना सबैका लागि बहाना बनेको छ । पुल निर्माण गर्ने कम्पनीले पनि कोरोनालाई दोष दिनु स्वाभाविक हो । तर इच्छाशक्ति भए समयमै काम सक्न कुनै समस्या थिएन ।
यो योजना सम्पन्न ढिलो हुनु त दुखदायी पक्ष हो । योसँगै जोडिएको पक्ष छ नेपालका सरकारी कार्यालयबीचको समन्वय ।
बिजुलीका पोल हटाउनुपर्ने छ । पीपलको हाँगो काट्नुपर्ने छ भन्ने कुरा ठेकेदार कम्पनी र महानगर दुवैलाई थाहा थियो । अनि विद्युत प्राधिकरण र वन कार्यालयबाट हुने ढिलासुस्तीका बारेमा पनि उनीहरु जानकार थिए ।
यसका लागि योजना सुरु भएदेखि नै प्रक्रिया थाल्नुपर्नेमा दुवै पक्षले यसमा ध्यान दिएनन् । अहिले आएर ठेकेदार कम्पनीलाई बाहाना मिलेको छ ।
उसले भनेको छ, बिजुलीका पोल हटाएर हाँगा काटेको २ महिनामा पुल तयार गरेरै छाड्छु भनेर ।
कुनै पनि योजना निर्माण हुनुअघि, निर्माण अवधि र निर्माण पश्चातका प्रक्रियाका बारेमा ठेकेदार कम्पनी र सरोकार निकायलाई थाहा भएकै हुन्छ । तर लामो समय कानमा तेल हालेर बस्ने अनि अन्तिम समयमा आएर एक अर्कालाई दोष लगाएर उम्किने आम प्रवृत्तिले विकास योजना अलपत्र पर्ने गरेका हुन् ।
पोखराकै जिरो किलोमिटरदेखि बागलुङ बसपार्क बनाउने बेलामा पनि बिजुलीका पोल र सडक छेउका रुख नकाटेकै कारण काम ढिलो भएको थियो ।
त्यहि भएर भनिएको हो यो आम प्रवृत्ति हो भनेर । अनि सरकारी कार्यालयबीचको समन्वयको अभाव पनि ।
एउटाले सुरु गरेको राम्रो कामको जस दिनुको साटो त्यसलाई कसरी असफल बनाउने भन्नेतिर धेरैको ध्याउन्न हुन्छ । सिर्जनाचोकको आकासे पुलले पनि यहि नियति खेपिरहेको छ ।
तपाईको प्रतिक्रिया