सहारा यूकेका पूर्वअध्यक्ष गुरुङ सम्मानित

समाधान संवाददाता २०७७ असोज २५ गते ७:५९

समाधान संवाददाता, पोखरा

सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीपकुमार गुरुङ अर्डर अफ द ब्रिटिस एम्पायर (एमबिई) अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान पु-याएबापत पूर्वगोर्खा सैनिक गुरुङ शुक्रबार सम्मानित हुने सूचीमा परेका हुन् ।

Advertisement

स्याङ्जाको कोल्मा बहाकोट पुख्र्यौली घर भई बेलायतमा व्यवसायरत गुरुङलाई ‘बेलायत र बाहिर रहेका नेपाली समुदायको सेवाका लागि’ सो सम्मान दिइएको हो ।

सैनिक सेवाबाट अवकाशपछि सामाजिक सेवामा खटिरहेका गुरुङ कोल्माबहाकोट समाज यूकेका अध्यक्षसमेत बनिसकेका छन् ।

Advertisement

उनी पोखरास्थित सहारा नेपालका पनि मानार्थ सदस्य छन् । मड्किन भञ्ज्याङ कल्चर म्युजियमको डाइरेक्टर गुरुङ द गोर्खा होटल रेस्टुरेन्ट एन्ड पप ब्ल्याक पुलका म्यानेजिङ डाइरेक्टर हुन् ।

द गोर्खा होटल रेस्टुरेन्टबाटै उनले कोरोना भाइरस नियन्त्रणका लागि बेलायतभर लगाइएको लकडाउनमा भिक्टोरिया हस्पिटल ब्ल्याक पुलमा २ महिनासम्म निःशुल्क खाना खुवाएका थिए ।

अहिलेसम्म पनि एनएचएसका सबै सदस्य र कर्मचारीलाई उनले आफ्नो रेस्टुरेन्टमा विशेष छुट दिइरहेका छन् ।

उनले आफ्नो निजी लगानीमा स्याङ्जास्थित आफ्नै घरमा सांस्कृतिक संग्रहालय स्थापना गरेका छन् । गाउँघरमा पुराना सामग्रीहरुको संकलन गरिएको सो संग्रहालयमा प्रवेश निःशुल्क गराइएको छ ।

स्याङ्जामै उनले युवा वर्गलाई सक्रिय राख्न फुटसल स्थापना गरेका छन् ।

पहाडमा ठूला ठूला मैदानको अभाव हुने भएकाले फुटसल प्रभावकारी हुने उनको बुझाइ छ । बिरुवा गाउँपालिका ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण गरिरहेका छन् ।

महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४९५ जनालाई दिइएको सम्मानमा पर्ने उनी एक्लो नेपाली मूलका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया