तनहुँ प्रहरीले उठायो २४ लाख ५२ हजार जरिवाना

समाधान संवाददाता २०७७ असोज २५ गते १४:५८

तनहुँ, रासस

Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी रहेका फरार रहेका व्यक्तिलाई पक्राउ गरी उक्त कैद असुली गरेको हो ।

तनहुँ प्रहरीले करिब साढे तीन महिनाको अवधिमा १७१ जना पक्राउ परेका तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए ।

उनका अनुसार जरिवाना भुक्तान गर्न बाँकी रहेकाबाट रु २४ लाख ५२ हजार जरिवाना असुली गरेको छ ।

Advertisement

चोरी, साइवरक्राइम, बलात्कार, कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, लागुऔषध, बहुविवाह, बंैकिङ कसुरलगायत विभिन्न आपराधिक मुद्दामा फरार हँुदै आएका व्यक्तिलाई पक्राउ गरिएको बताए ।

यसरी पक्राउ परेकालाई जिल्ला अदालतमा पेश गरिएकामा अदालतले कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेकालाई कारागार पठाएको बताए ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको छ ।

तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल असारको पहिलो सातामा सरुवा भएर आएपछि असारको दोस्रो सातादेखि यस किसिमको अभियान थालेपछि फरार मुद्दाका व्यक्ति धमाधम पक्राउ पर्न थालेका हुन् ।

यसरी पक्राउ पर्नेमा २० वर्षदेखिका फरार रहेका व्यक्ति छन् । अपराध गर्ने व्यक्ति निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुँदै गएको त्यसलाई अन्त्य गर्न एक किसिमको विशेष टोली नै बनाएर अभियान थालिएको उनले बताए ।

त्यसैगरी उक्त अवधिमा मास्क नलगाई अटेर गरी हिँड्डुल गर्ने एक हजार ४०० जनालाई कारवाहीस्वरुप रु १०० जरिवानाका दरले रु एक लाख ४० हजार रकम सङ्कलन भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया