पोखरामा धमाधम कुकुरको वन्ध्याकरण

समाधान संवाददाता २०७७ असोज २५ गते २०:४०

समाधान संवाददाता
पोखरा

हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट नेपाल) ले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुको वन्ध्याकरण गर्न थालेको छ । यो अभियान अन्तर्गत दसैं अघिसम्म कम्तीमा ३५ पोथी कुकुरको वन्ध्याकरण गर्ने संस्थाले जनाएको छ ।

हार्टले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएको छ । खोप लगाउने क्रममा कोभिड १९ महामारीको कारण केही वडा छुटेका थिए । ती छुटेका वडामा गएको हप्ता विश्व रेबिज दिवसको अवसर पारेर खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए ।

Advertisement

खोप लगाउने क्रममा बन्ध्याकरण नभएका पोथी कुकुरहरुको संख्या धेरै देखिएकाले अभियान थालिएको उनले बताए । पोखरा महानगर वडा नम्बर १५ र १७ का कुकुरको वन्ध्याकरण गर्न लागिएको उनले जानकारी दिए ।

के हो रेबिज

Advertisement

रेबिज एउटा प्राणघातक सरुवा रोग हो । जुन विषेशगरि कुकुरको टोकाइबाट सर्ने गर्दछ । विश्वमा हरेक वर्ष ५९ लाख मानिसको यसै कारण मृत्यु हुने गरेको छ । नेपालमा पनि बर्सेनि २ सय जना मानिस र धेरै चौपाया यसको कारण मर्ने गरेका छन् ।

कुकुरहरुको संख्या कम गरी रेबिज नियन्त्रणका निम्ति पहिले कुकुरलाई विष खुवाइ मार्ने चलन थियो । अहिले यसरी कुकुरको हत्या गर्नेलाई कानुन बमोजिम ५ हजार जरिवानासहित कैद हुन सक्छ ।

तसर्थ कुकुर बिरालोको संख्यालाई मानवीय रुपमा कम गर्नको लागि वन्ध्याकरण मुख्य उपाय हो । हार्ट नेपालले विगत १० वर्ष देखि पोखरा, भरतपुर लगाएत नेपालका विभिन्न ठाउँहरुमा पुगेर २२ हजारभन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ । यति मात्र नभएर हार्टले ३५ हजार भन्दा धेरै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया