दृष्टिप्रतिको आस

समाधान संवाददाता २०७७ असोज २६ गते ०:०१

सम्पादकीय

विश्व दृष्टि दिवस ‘दृष्टिप्रतिको आस’ नाराका साथ नेपालमा मनाइएको छ । मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको समस्या छ ।

३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिविहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् ।

Advertisement

तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् ।

कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् ।

Advertisement

नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ ।

आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन ।

पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएको छ ।

विसं ३०३५÷३६ मा नेपालमा राष्ट्रिय अन्धोपन सर्वेक्षण गरियो । उक्त सर्वेक्षणले कुल जनसंख्याको शून्य दशमलव ८४ प्रतिशत दृष्टिविहीन रहेको तथ्यांक देखायो ।

तीमध्ये पनि ९२ प्रतिशत दृष्टिविहीन ग्रामीण भेगमा बस्ने गरेको र अन्धोपनलाई मुलुककै मुख्य जनस्वास्थ्य समस्याका रुपमा सर्वेक्षणले चित्रण गरेको थियो ।

त्यतिबेलासम्म राजधानी केन्द्रित आँखा उपचार सेवा यो सर्वेक्षणको नतिजा सार्वजनिक भएलगत्तै राजधानी बाहिर पु¥याउन पहल थालिएको हो ।

विश्वभरि करिब ३ करोड ६० हजार मान्छेहरु दृष्टिविहीन छन् । २ अर्ब ४६ करोड हाराहारी मान्छेहरु कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित रहेको तथ्यांक छ ।

विश्वभरि नै कुल दृष्टिविहीन जनसंख्याको ९० प्रतिशत बढि जनसंख्या न्यून आयश्रोत भएका र आर्थिक रुपमा विपन्न परिवारमा बस्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्वमा १ करोड ९० लाख बालबालिका दृष्टिविहीन छन् ।

कुपोषण र शारीरिक समस्या वाहेक काम गर्ने क्रममा दुर्घटनामा परेर पनि आँखाको समस्या आउन सक्छ । ग्रामीण भेगमा अझै आँखाको समस्या बढी हुने सम्भावना रहन्छ ।

घाँसदाउरा गर्दा होस या घरायसी काममा आँखामा विभिन्न खाले चोट लागेका बेला तुरुन्तै उपचारको अवस्था ग्रामीण भेगमा रहँदैन ।

जसका कारण दृष्टि नै गुमाउनुपर्ने समस्या पनि आउनसक्छ ।

तसर्थ ग्रामीण भेगका स्वास्थ्य चौकीहरुमा कम्तीमा पनि १ जना नेत्र सहायकको दरबन्दी सिर्जना गर्ने हो भने प्रारम्भिक खालका समस्याबाट पार पाउन सकिन्छ ।

नेपालमा पनि दृष्टिविहीनहरुको हकहितका लागि धेरै संघसस्था कार्यरत छन् । नेपाल नेत्रहीन संघले छाता संगठनका रुपमा कार्य गर्दैै आएको छ ।

नेपाल नेत्रज्योति संघले पनि नेपालभरि नेत्रज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेको छ ।

झण्डै ३ दसकअघि पोखरामा स्थापित हिमालय आँखा अस्पतालले पोखरामात्र हैन, कर्णालीको दुर्गम भेगका बासिन्दालाई समेत गुणस्तरीय सेवा दिँदै आएको छ ।

अरु रोग लागे पोखरेली अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ ।

जनशक्ति उत्पादनमा ध्यान दिएर आँखा उपचारलाई सर्बसुलभ बनाउन सरकारी निकाय पनि अग्रसर हुनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया