व्यास नगरपालिकालाई रोटरीले दियो पिसिआर मेसिन

समाधान संवाददाता २०७७ असोज २६ गते ८:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यावसायिक शिक्षाको विकासका लागि रोटरी क्लबले योगदान दिनसक्ने बताएका छन् ।

रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ४ ले गरेको विद्युतीय सिकाइ सहयोगी सामग्री तथा पिसआर मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सराहनीय रहेको बताए ।

Advertisement

नेपालमा साक्षरता बढाउन रोटरीले ल्याएका सामुदायिक विद्यालयलक्षित कार्यक्रम प्रशंसनीय रहेको भन्दै उनले साक्षरता अभियानका सन्दर्भमा व्यावसायिक शिक्षाका लागि रोटरी क्लबको योगदान रहन सक्नेतर्फ ध्यानाकर्षण गराए ।

कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थिति हुन नसक्ने अहिलेको अवस्थामा विद्युतीय सिकाइ आम बालबालिकाहरूका लागि उपयोगी हुने भन्दै प्रदेश प्रमुख शेरचनले प्रविधिमैत्री सिकाइसँगै उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

नेपालमा खनिज पदार्थको उपयोग गर्न सक्ने जनशक्तिको खाँचो रहेको र त्यस्ता खालका जनशक्ति तयार पार्न प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेशनलका इलेक्ट प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने बताए ।

जनसंख्या र भूगोलका हिसाबले भारत भन्दा नेपालमा साक्षरता अभियान सञ्चालन गर्न धेरै सहज रहेको बताउँदै मेहताले नेपाल सरकारको अभियानसँग रोटरीले सहकार्य गरेर अघि बढ्न सक्ने भनाइ राखे ।

रोटरी क्लब इन्टरनेशनल ३२९२ रिजन ४ का अध्यक्ष किरणलाल श्रेष्ठले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षर बनाउने अभियानमा रोटरी क्लबले विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेको जोडे ।

रिजन ४ का विद्युतीय सिकाइ संयोजक पुरन कुँवरले रिजन ४ अन्तर्गतका हाल ३६ विद्यालयसँग रोटरी क्लबले विद्युतीय सिकाइका लागि सहकार्य गरेको बताए ।

कोभिड–१९ को महामारीका बेला विद्युतीय सिकाइ प्रभावकारी हुने कुँवरले बताए ।

सो अवसरमा रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष तीर्थमान शाक्य, रोटरी रिजन ४ का उपाध्यक्ष केशव आचार्य, सचिव बाबुराम बराललगायतले बोलेका थिए ।

भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पिसिआर मेसिन हस्तान्तरण गरिएको थियो ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सो पीसीआर मेशिन नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

त्यस्तै, विभिन्न विद्यालयलाई रिजन ४ अन्तर्गतका १२ रोटरी क्लबका तर्फबाट विद्युतीय सिकाइ सहयोगी सामग्री हस्तान्तरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया