कोरोनाले तनहुँको एकैपरिवारका ३ को मृत्यु, २ अस्पतालमा

समाधान संवाददाता २०७७ असोज २६ गते १९:५३

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ सदस्यको ज्यान गएको छ ।

भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो ।

Advertisement

कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको नेकपा तनहुँका नेता प्रतापलाल श्रेष्ठले पुष्टि गरे ।

९८ वर्षीय श्रेष्ठ बिरामी भएपछि चितवन मेडिकल कलेज लगिएको थियो । चितवनमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको आफन्तले जनाएका छन् ।

Advertisement

चितवनमै उपचार गराउँदा कोभिड संक्रमण भएको हुनसक्ने र उनलाई भेट्न गएकालाई पनि संक्रमण फैलिएको नेता श्रेष्ठको आशंका छ ।

धर्मकुमारको शव आइतबार नै व्यवस्थापन गरिएको छ ।

श्रेष्ठका माइला छोरा कृष्णकुमार श्रेष्ठको २४ असोजमा बिएन्डबी अस्पतालमा र साइँला छोरा विष्णुकुमार श्रेष्ठको १८ असोजमा उचपारकै क्रममा मृत्यु भएको थियो ।

संक्रमण पुष्टि भएकी कृष्ण कुमारकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।

जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् ।

जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमा छन् ।

धर्मकुमारका कान्छा छोरा अमृत श्रेष्ठमा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उनी निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया