बर्खे अधिवेशन अन्त्य, १४ विधेयक पारित

समाधान संवाददाता २०७७ असोज २७ गते १:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Advertisement

त्यही सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बर्खे अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएका हुन् ।

प्रदेश सभाको चालु अधिवेशन जेठ ११ गते सुरु भएको थियो ।

Advertisement

नदीपुरस्थित प्रदेशसभाको हल साँघुरो भएकाले कोभिड महामारीसँगै पोखरा सभागृहमा संसद बैठक बसेको थियो ।

सभागृहको हल मर्मतका लागि मात्रै सरकारले ३० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

बर्खे अधिवेशनमा ६२ वटा बैठक बसेको र साेमबारसमेत गरी १४ वटा विधेयक पारित भएका छन् ।

कोभिडको महामारीका कारण बीचमा १ महिनाभन्दा बढी बैठक अवरुद्ध भएको थियो ।

बीचको केही समय प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले बैठक अवरुद्ध गरे पनि सरकारसँगको सहमति पछि बैठक सञ्चालन भएको थियो ।

यो अधिवेशनमा खासगरी बजेट पारित गरिने भए पनि यसपालि बजेटसँग जोडिएका सहित १४ विधेयक पारित भएको छ ।

हिउँदे अधिवेशनले पारित गर्न नसकेका विधेयक समेत यो अधिवेशनले पार लगाएको छ ।

यही अधिवेशन संसद सचिवालय व्यवस्थापन सम्बन्धी विधेयक पारित गरेसँगै सचिवालयमा सचिव नियुक्त भएका छन् ।

यो अधिवेशनमा पहिलोपटक नेपाली कांग्रेसले संकल्प प्रस्ताव पनि दर्ता गरायो । जुन प्रस्ताव वहुमतबाट अस्वीकृत भएको छ ।

तपाईको प्रतिक्रिया