व्यवहारमा नम्र, कानुनमा कठोर

समाधान संवाददाता २०७७ असोज २७ गते १:००

समाधान संवाददाता, पोखरा

पोखरा चेम्बर अफ कमर्स कास्कीले उद्योगी व्यवसायी बीच दशैं तिहारलाई लक्षित गरी सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले नेपाल प्रहरी व्यवहारमा नम्रता र कानुन कार्यान्वयनका कठोर भएर प्रस्तुत हुने बताए ।

Advertisement

नेपाल सरकारले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी पुरा गर्ने उल्लेख गर्दे उनले अविचलित भई संविधान र कानुनले तोकेको काम गर्ने उल्लेख गरे ।

‘नेपाल प्रहरीको नियमित काम गरेतापनि काम गर्ने तौर तरिका र प्रहरीका अधिकृतहरुको स्वभाव फरकफरक होला,’ उनले भने, ‘प्रोएक्टिभ पुलीसिङलाई अवलम्बन गर्दै व्यवहारमा नम्रता र कानून कार्यान्वयनमा कठोरता बन्ने नीति अख्तियार गरेका छौं ।’

Advertisement

उनले पोखराको स्थान विशेष, संस्कृति, रहनसहन जातीगत विशेषको अवस्थालाई बुझेर काम गरेको बताए ।

लागुऔषध, चोरी, ठगी तथा सामाजिक विकृतिलाई परास्त गर्ने हिसाबले योजनाबद्ध ढंगले परिचालित भएको दावी गर्दै उनले अहिलेसम्म गरेको कामको समिक्षा गरी आगामी दिनमा सुधारको लागि प्रयत्न गर्ने जनाए ।

प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुवास हमाललेकास्की प्रहरीले चाडपर्व दसैं सुरक्षा योजना– २०७७ ल्याएको जानकारी दिदै प्रहरीले चौबिसैघन्टा गस्ती गर्ने बताए ।

उनले चोरी डकैती लुटपाटलाई न्युनिकरण गर्दै राजमार्ग गस्तीलाई ध्यान दिने जानकारी दिदै उनले प्रतिबन्धीत समूहबाट चन्दा असुली र विस्फोटको घटना हुन सक्ने संकेत गरे ।

पोखरा चेम्बर अर्फ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले कोभिड १९बाट जोगिदै दशैं तिहार लगायतका चाडपर्व मनाउनु पर्ने बताए ।

वित्तिय कारोबार, स्वास्थ्य, यातायात तरकारी फलफुल, होटल व्यवसायलाई केन्द्रीत गरी सुरक्षा सम्बन्धी कार्यक्रम गरेको जानकारी दिदै उनले चेम्बरले आर्थिक नीति निर्माणमा ३ तहको सरकारलाई सहजीकरण गरेको उल्लेख गरे ।

कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुरक्षा योजना कार्यान्वयनको लागि यातायात व्यवसायीले सघाउने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी एकीकृत सुरक्षा योजना निर्माण गरेर काम गर्न सुझाव दिए ।

बैकर्स एशोसियसन गण्डकीका अध्यक्ष दिपेन्द्र शर्माले बैक तथा वित्तिय संस्थाहरुमा भिडभाड गर्नु भन्दा डिजिटल माध्यमबाट कारोबार गर्न सुझाव दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, महासिचव उमराज बास्तोला, रेष्टुरेन्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष भीमसेन भुजेल, पोखरा पर्यटन परिषदका महासचिव लक्ष्मण बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया