घाइते कालो चिलको उपचारकै क्रममा मृत्यु

समाधान संवाददाता २०७७ असोज २७ गते ९:३३

एसके थकाली, जोमसोम

पछिल्लो समय हिमाली जिल्लामा पाइने दुर्लभ संरक्षित वन्यजन्तु तथा पंक्षी संकटमा पर्न थालेको छ ।

मुस्ताङ घरपझोङ—५ ठिनी हुँदै जाने तिलिचो पदमार्ग आसपास आँखा नदेख्ने रोगले ३ वटा वन्यजन्तु नाउर भीरबाट लडेर मरेको १ महिनापछि अर्धसंरक्षित कालो चिल घाइत भएर मरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ ।

Advertisement

एक्याप जोमसोमका अनुसार असोज २२ गते मुस्ताङको घरपझोङ गापा—१ छैरो गाउँमा अवस्थित सामुदायिक विद्यालयको कम्पाउन्डमा उक्त कालो चिल पोथी उड्न नसकी घाइत अवस्थामा फेला परेको थियो ।

विद्यालय कम्पान्डमा भेटिएको कालो चील स्थानीय समुदायले देखेपछि तत्काल जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय एक्यापलाई खबर गरेका थिए ।

Advertisement

कालो चिल घाइते भएको खबर पाएपछि एक्यापका कर्मचारीले घाइते पंक्षीलाई एक्यापको कार्यालयमा ल्याइ उपचार गराइएकोमा शनिबार राति घाइते कालो चिलको मृत्यु भएको कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।

मरेको कालो चीलको शारिरीक बनाबट टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २४ इञ्च, उचाइ १० इञ्च, खुट्टाको उचाइ ५ इञ्च, घाँटीको गोलाइ ६ इञ्च र पखेटाको लम्बाइ १८ इञ्च छ ।

घाइते पंक्षीको दाहिने खुट्टामा चोटपटक लागेको र कार्यालय ल्याइ उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

एक्याप कार्यालयमा उपचारका क्रममा मृत्यु भएको कालो चिलको एक्याप जोमसोमका प्रतिनिधि, डिभिजन वन कार्यालय जोमसोम, जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिको रोहबरमा मुचुल्का उठाइ खाल्डोमा गाडिएको छ ।

तपाईको प्रतिक्रिया