मन भुलाउन विभूति पार्क

समाधान संवाददाता २०७७ असोज २७ गते १८:४५

गोपालध्वज जंगखड्का

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटको जामुनबोटमा करिब ५७ रोपनी क्षेत्रफलममा पोखराकै नमुना राष्ट्रिय विभूति तथा सहिदपार्क बन्दैछ ।

विभिन्न कालखण्डमा सहिद भएका तथा राष्ट्रिय विभूतिहरुका प्रतिमा पार्कमा क्रमश राख्ने योजना छ । पोखरा महेन्द्रपुलबाट करिब ३ किलोमिटर दुरीमा रहेको पार्क एक रमणीय एवं मनमोहक स्थल बन्दैछ ।

Advertisement

करिब १ हजार ३ सय मिटरको उचाइमा रहेको पार्कबाट दक्षिणतिर समग्र पोखराको दृश्यावलोकन गर्न सकिन्छ । उत्तरतर्फ मनमोहक हिमशृंखला नजिकबाट नियालेर भरपुर मनोरञ्जन लिन पाइन्छ ।

पार्कस्थलको संरक्षणको लागि चारैतिरबाट तारबार गरिएको छ । पार्कको वरिपरि घुम्नका लागिपैदलमार्ग बनाइएको छ । पार्कभित्र राष्ट्रिय विभूति तथा सहिदहरुको प्रतिमा निर्माण भइरहेको छ ।

Advertisement

पार्कको सुन्दरताका लागि फलफूल लगायत विभिन्न जातका बिरुवा रोपिएको छ । पार्कमा घुम्न आउने पर्यटकका लागि प्रतीक्षालय,पानी तथा घामबाट जोगिन केही छाहारीको व्यवस्था गरिएको छ ।

पार्कको तल्लो भागमा बनाइएको खुल्ला व्यायामशालाले पार्कलाई थप आकर्षक बनाएको छ । बिहान बेलुका व्यायामशालामा शारीरिक तन्दुरुस्तीका लागि जानेको भीडभाड हुन्छ ।

पार्कका लागि महानगरको गत आर्थिक वर्षमा १ करोड रुपैयाँको लगानीमा प्रारम्भिक चरणको काम भएको छ। पार्कको माथिल्लो भागमा ५ फिट ३ इन्च अग्लो पूर्णकदको पृथ्वीनारायण शाहको सालिक बनाइएको छ ।

शालिक राखिएको क्षेत्रबाट पोखराको अवलोकन गर्ने जो कोहीको मन पनिप्रफुल्ल भई रमाउछ ।

पार्कको उत्तरतर्फको भागमा स्वर्गीय रवीन्द्र अधिकारीको शालिक राखिएको छ । पार्कको तल्लो क्षेत्रमा २०६२/०६३को जनआन्दोलनका सहिद भीमसेन दाहालको प्रतिमा निर्माण गरिएको छ ।

पार्कमा सहिदहरु तथा विभूतिहरुको सालिकहरु क्रमशःराख्ने योजना पोखरा महानगरको छ । पार्क भित्रबिपी कोइराला, हरि गुरुङ, योगेन्द्रमान शेरचन, हर्क गुरुङ, लखन थापा लगायतको शालिक राख्ने योजनाअनुसार स्थलहरु छुट्याउने काम भएको छ ।

पोखराको सहरी क्षेत्रको जीवनशैली अस्तव्यस्त बन्दैछ ।

अत्यन्तै भीडभाड तथा कोलाहलका कारणले नजिकैको प्राकृतिक मनोरमस्थलको पार्क समग्र पोखरेलीको लागि गन्तव्य स्थलको रुपमा विकास भएको छ ।

निर्माण तथा व्यवस्थापनको काम सकिदा पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइको स्थल बन्ने निश्चित छ । पार्कको सुन्दरता र विकासका लागि गुरुयोजना बनाएर थप व्यवस्थित गरिँदै छ ।

त्यसका लागि पोखरा महानगर पालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय पार्क व्यवस्थापन समिति समेत बनेको छ ।

पार्कको थप व्यवस्थापनको क्रममा पर्यटकको बस्ने स्थल, पिकनिक स्पट, बौद्वगुम्बा,मन्दिर, चौतारी, रोमान्टिक जोडीको लागि विश्रामस्थल, कफीसप, कोसेलीघर, पिङ राखिएको छ ।पार्कमा वर,पिपल,समीका अलवा बहुमुल्य जातका बिरुवाहरु रोपिएको छ ।

पार्कको रेखदेखको लागि कर्मचारीकोव्यवस्था समेत गरिएको छ । पार्कलाई थप आकर्षक बनाउन चिढियाघर निर्माण देखि फोहोरमैलाको नियमित व्यवस्थापन, खानेपानीको व्यवस्था गरिने छ ।

सवारी साधन पाकिङस्थल, साइकल ट्रयाक, वनवाटिका, सुनाखरी पल्टहरु, आकर्षक वाटरफाउन्टेन कृत्रिम झरना, नेपाली मौलिक पाहुना घर, जन्मदिन, वैवाहिक पार्टीस्थल सहित पार्कमा ओपन ट्रस्ट बनाएर बैठक स्थल, तालिम कक्ष लगायत आकर्षक संरचनाहरु बन्ने छन् ।

पार्क योग, ध्यानस्थल एवं प्रकृतिसँग रमाउनेको लागि मुख्य केन्द्र बन्ने छ । भ्युटावर, झोलुगेंपुल, चिल्ड्रेन फनपार्क, स्विमिङ पुल लगायतका मनेरञ्जनात्मक स्थलहरु पार्कका थप विशेषता हुनेछन् ।

पार्कको आयश्रोत बढाउन प्रवेश शुल्क तोकिएको छ । विदेशीलाई ५०, नेपालीका लागि २० र विद्यार्थीका लागि १० रुपैयाँ कायम गरिएको छ ।

धेरैभन्दा धेरै सदस्य बनाएर पार्कलाई सबैको साझा थलोको रुपमा विकास गर्ने योजना व्यवस्थापन समितिको छ । पार्कको आजीवन सदस्यको लागि २ हजार ५ सय, साधारण सदस्यका लागि २ सय ५० रुपैयाँ शुल्क कायम गरिएको छ ।

दीर्घकालीन रुपमा पार्कमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारी, बिपी कोइराला, गणेमान सिंह लगायतका राष्ट्रिय नेताहरुको स्तम्भ स्थापना गर्ने योजना छ ।

राष्ट्र निर्माण तथा लोकतान्त्रिक आन्दोलनका अगुवाहरुका बारेमा सबै सूचना र गतिविधि राखेर अध्ययन केन्द्र एवं आवासीय तालिम केन्द्र बनाउने योजनालाई मुर्त रुप दिन सकेमा पार्कको थप महत्व बढ्ने छ ।

पार्कलाई केबल मनोरञ्जन स्थलको रुपमा नलिएरसंस्कृतिको प्रबद्र्धन,सामाजिकीकरण, सामुदायिक विकास, पौराणिक महत्वको संरक्षण तथा सिकाइ स्थलको रुपमा विकास गर्न पर्छ ।

मानिसको स्वास्थ्य प्रबद्र्धन,सीप तथा ज्ञानको भण्डारको विकास, प्राकृतिक वातावरण, आर्थिक विकास लगायतका कार्यमा पार्कले प्रत्यक्ष सहयोग गर्दछ ।

त्यसैले सरोकारवालाहरु सबै मिलेर पोखरा पार्कको संरक्षण, व्यवस्थापन गर्दै महत्वपुर्ण पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नु आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया