गण्डकीमा बलात्कारको ग्राफः १५ महिनामा २११ घटना

समाधान संवाददाता २०७७ असोज २७ गते २०:३०

अनुप आत्रेय, पोखरा

सर्लाहीबाट २१ वर्षे युवक गत मंसिरमा पोखरा आए । पोखरामा उनी दाइ नाता पर्नेकहाँ बसे । २ पुसमा घरका सबै सदस्य १४ वर्षीया छोरीलाई छोडेरकाममा बाहिर निस्किए ।घरमा भतिजिी र काकामात्रै भए ।

राति साढे ९ बजे २१ वर्षे काका एकाएक भतिजीमाथि जाइलागे । बालिकाले प्रतिकार गर्न खोजिन् तर सकिनन् ।

Advertisement

ती काका उतिबेलै सर्लाही फर्किए । २९ भदौमा बालिकाले पेट दुख्यो भन्न थालिन् । परिवारका सदस्यले अस्पताल लगेपछि पेटमा बच्चा भएको थाहा भयो ।अस्पतालमा उनले छोरा जन्माइन् ।

१४ वर्षीया छोरीले बच्चा पाएपछि उनका बुबा आमा आश्चर्यमा परे । सोधपुछ गर्दै जाँदा थाहा भयो आफूले विश्वास गरेकै मान्छेले कुकर्म ग¥यो ।

Advertisement

परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिए । आरोपित काकालाईसर्लाही प्रहरीसँग समन्वय गरेर कास्की प्रहरीले १८ असोजमा पक्राउ गरेको छ ।

१९ असोजमा पोखरा ल्याएर ती युवकमाथि प्रहरीले हाडनाता करणी कसुर अन्तर्गत ५ दिन म्याद थपेर अनुसन्धान सुरु भयो ।

पहिलोपटक थपिएको म्याद सकिएपछि ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।ती बालिका र बच्चालाई पोखराकै एउटा सेफ हाउसमा राखिएको छ ।

लमजुङ बगुमका ३ बालिका ६ भदौमा घर नजिकै खेलिरहेका थिए । चिनाजानकै छिमेकी अंकल नन्दमान गुरुङ त्यहाँ आइपुगे । गुरुङले तीनै जनालाई फकाएर नजिकैको खाली घरमा लगे ।

गुरुङले ११ वर्षका २ र ९ वर्षे बालिकालाई उक्त घरमा लगेका थिए । २ हप्तापछि १९ भदौमा नन्दमानविरुद्ध बालिकाको परिवारले जाहेरी दियो । उनलाई सोही दिन नियन्त्रणमा लिइयो ।

जिल्ला अदालतबाट २० दिन म्याद थपेर प्रहरीले अनुसन्धान सुरु ग¥यो । लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार अहिले नन्दमानलाई पुर्पक्षका लागि अदालतले कारागार चलान गरेको छ ।

यी २ सहित आर्थिक वर्ष २०७६/७७ यताको १५ महिनामा गण्डकी प्रदेशमा २ सय ११ घटना प्रहरीसम्म आइपुगेका छन् ।

चालु आर्थिक वर्षको ३ महिनामा जवरजस्ती करणीका ५० घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । सबैभन्दा बढी कास्कीमा १७ घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्यांकअनुसार २४ असोजसम्म गोरखामा ८, लमजुङमा ७, तनहुँमा ६, नवलपुरमा ४, बागलुङमा ३, म्याग्दीमा २, पर्वतमा २ र मुस्ताङमा १ घटना भएका छन् ।

प्रदेशभर साउनयता बलात्कार प्रयासका १२ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयकी सूचना अधिकारी एसएसपी किरण रानाले जानकारी दिइन् । पछिल्लो ३ महिनामा भएका घटनामध्ये १० प्रतिशत घटना आफन्तबाटै भएको पाइएको छ ।

५० मध्ये ५ जना आफन्तबाटै बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ । साउनयता नवलपुर र गोरखामा २/२ तथा तनहुँमा १ घटना हाडनाता करणीका छन् ।

चालु आवको साउनमा २०, भदौमा २१ र असोजमा ९ घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रदेशभर जवरजस्ती करणीका १ सय ६१ घटना भएको प्रदेश प्रहरी कार्यालय पोखराको तथ्यांकमा उल्लेख छ ।

कास्कीमा ६३, नवलपुरमा १६, लमजुङमा १०, बागलुङ र गोरखामा १३, तनहुँमा १६, स्याङ्जामा १२, म्याग्दीमा ८, पर्वतमा ७, मुस्ताङमा २ र मनाङमा १ घटना भएका छन् । गत आवमा ११ प्रतिशत घटना आफन्तबाटै भएका छन् ।

गत वर्षका १ सय ६१ मध्ये १३ घटना हाडनाता करणीका रहेको एसएसपी रानाले बताइन् ।

गत आर्थिक वर्षमा कास्कीमा ३, गोरखा, लमजुङ र बागलुङमा २, तनहुँ, स्याङ्जा, म्याग्दी र नवलपुरमा १/१ घटना हाडनाता करणीका रहेको एसएसपी रानाले जानकारी दिइन् । गत आवमा सबैभन्दा धेरै घटना साउनमा २० वटा भएका थिए ।

किन बढ्दै छन् बलात्कारका घटना ?

बिना सिलवाल
अधिकारकर्मी

बालिका बलात्कारका घटना पहिला पनि हुन्थे । कोभिड १९ पछि भने झनै बढेको अवस्था छ । नागरिकता नबनेको, जन्म दर्ता नभएका र सपोर्ट नभएका बालिकाहरु धेरै आउँछन् ।

अहिले हाम्रो रेखदेखमा रहेका १७ वर्षसम्मका ३ जना नानीहरुको बच्चा छ । आमा बलात्कारमा परेर जन्मिएको बच्चा पनि छ ।

बलात्कारका घटना बढ्नुका साथै बाहिर आउने क्रम पनि बढ्दो छ । घरपरिवार, समाज र अन्य सपोर्ट सिस्टमहरुबीच दुरी बढ्दै गएको छ ।

सामाजिक सञ्जालले पनि यस्ता घटना बढाएको पाइन्छ । किशोरीहरु पहिला सानो उमेरमा विवाह गर्थे ।

कानुनले विवाह गर्ने उमेर बढायो, एकअर्का प्रति आकर्षण हुने उमेरमा संस्कारले लभ गर्ने वातावरण सिर्जना गरेन ।

लभ गर्न पनि नपाउने, विवाह पनि नहुने हुँदा स्वाभाविक रुपमा समस्या आउँछ । त्यस्तो अवस्थामा दर्ता प्रक्रियामा पनि जान मिल्दैन । केटाहरु भागिहाल्छन्, त्यसको असर किशोरीहरुमा पर्छ ।

अर्को कारणचाहिँ गरिबी हो । आफ्नो आर्थिक कठिनाइ छ । अर्कोले लोभ देखाएपछि धेरै किशोरीहरु त्यस्तोमा फँसेर यस्तो घटनामा परेका छन् ।

सबैभन्दा मुख्य कारणचाहिँ कानुनको प्रभावकारी कार्यान्वयन नहुनु नै हो । बलात्कार, यौनजन्य हिंसालाई जघन्य अपराध भनेको छ तर यस्ता घटनालाई ढाकछोप गर्ने संस्कार अझै पनि विद्यमान छ । यस्ता कारणले बलात्कारका घटना बढेका छन् ।

तपाईको प्रतिक्रिया