बर्दघाट नगरपालिकाको सेवा बन्द

समाधान संवाददाता २०७७ असोज २८ गते ११:५९

नवलपरासी , रासस

नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी बर्दघाट सुस्तापश्चिम स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ ।

सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।

Advertisement

नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।

वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ ।

Advertisement

कोभिड नियन्त्रण र नागरिकको सेवामा निरन्तर खटिरहेका अवस्थामा नगर प्रमुख बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएकामा नगरपालिकाले स्वास्थ्यलाभको कामना गरेको छ ।

कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा रहनुभएको तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले आजदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठनपाठन बन्द गर्न निर्देशन दिइएको हो ।

सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताए ।

सरावल गाउँपालिकाले पनि महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जनाए । यससँगै केही समयदेखि सञ्चालनमा आएका विद्यालय फेरि बन्द हुने भएका छन् ।

तपाईको प्रतिक्रिया