आँबुखैरेनी गाउँपालिकाका सबै वडामा मेलमिलाप केन्द्र

समाधान संवाददाता २०७७ असोज २८ गते १२:०५

तनहुँ, रासस

Advertisement

तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।

स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

स्थानीय स्तरमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् ।

स्थानीय शासन ऐन, २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ ।

Advertisement

उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहनुभएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रकृयालाई टेवा पु¥याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको सम्बद्र्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ मा पवन नेपाली, २ मा बासुदेव थापा, ३ मा नारायण गिरी, ४ मा मिनशोभा गुरुङ, ५ मा चतुरे मगर र ६ मा जङ्गबहादुर गुरुङ मेलमिलाप संयोजकमा रुपमा नियुक्त भएका छन् । प्रत्येक वडामा चार जना महिला र तीन जना पुरुष मेलमिलापकर्ताको रुपमा छन् ।

मेलमिलापकर्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आँबुखैरेनी गाउँपालिका र जाइका नेपालले छ दिने प्रशिक्षण प्रदान गरेको थियो ।

गाउँपालिकाको न्यायिक समितिमा २०७५– ७६ देखि हालसम्म ७० वटा उजुरी दर्ता भएकोमा ६९ उजुरीको समाधान गरिएको छ । हालसम्म गाउँपालिकाको न्यायिक समितिबाट मेलमिलापसम्बन्धी काम हुँदै आएकामा वडा वडामा नै मेलमिलाप केन्द्र स्थापना भएपछि वडाबाटै विवाद समाधान गरिने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया