‘कोरोना बोकेर आशीर्वाद लिन नजाऔं’

समाधान संवाददाता २०७७ असोज २८ गते २१:३२

अनुप आत्रेय, पोखरा

भदौ अन्तिमसम्म गण्डकी प्रदेशमा ३१ सय ७८ संक्रमित थिए । असोज लागेसँगै संक्रमणको दर उकालो लागेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

बुधबार साँझसम्म प्रदेशका ५१ सय ८७जनामा कोरोना देखिएको छ । कुल संक्रमितमध्ये ३८.७ प्रतिशत संक्रमित असोज महिनामा थपिएका छन् । असोजयता २८ दिनमा प्रदेशभर २ हजार ९ संक्रमित थपिएको निर्देशनालयको तथ्यांक छ । थपिएकामध्ये १५ सय ३५ (७६.४० प्रतिशत) संक्रमित निको भएका छन् ।

Advertisement

कुल संक्रमितमध्ये ३४ सय ७० (६६.८९) प्रतिशत निको भएको छ । तीजमा संक्रमण नबढे पनि दसैंमा संक्रमण बढ्नेमा स्वास्थ्यसम्बद्ध अधिकारीको अनुमान छ । असोजमा ३ अंकको संक्रमण बढेको निर्देशनालयको तथ्यांकले देखाउँछ ।

असोजको सुरुआतदेखि बुधबारसम्म गरेर प्रदेशमा ७ दिन सयभन्दा बढी संक्रमित भेटिएका छन् । १८ असोजमा हालसम्मकै सबैभन्दा धेरै १ सय ६० जनामा कोरोना पुष्टि भयो ।

Advertisement

बुधबारमात्रै गण्डकी प्रदेशमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कास्कीका ४८, गोरखाका १७, तनहुँका ७, नवलपुरका ६, स्याङ्जाका ३, बागलुङ र लमजुङका २, पर्वत र म्याग्दीका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २८ दिनमा १५ संक्रमितको ज्यान गएको छ । असोजमा तनहुँ र नवलपुरका ४/४ जनाको ज्यान गएको छ । त्यसबाहेक कास्कीका ३, स्याङ्जाका २, लमजुङ र गोरखाका १/१ संक्रमित छन् ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १३, नवलपुरका ९, तनहुँका ८, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
दसैंमा हिँड्डुल बढ्ने भएकाले संक्रमण बढ्ने निश्चित छ । तीजमा अपनाइएको बन्दको मोडल पुनः अपनाए संक्रमण दर कम हुने प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा बताउँछन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमात्रै कोरोनामुक्त छ । ६ असारमा भेटिएका संक्रमित निको भएपछि त्यहाँ कसैलाई कोरोना देखिएको छैन । प्रदेशभर १६ सय ७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी कास्कीमा ६ सय सक्रिय संक्रमित छन् । यो कुल सक्रिय संक्रमितको ३५.९० प्रतिशत हो । मनाङमा सबैभन्दा कम ५ सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा बुधबारसम्म ७८ हजार ६ सय २६ स्वाब परीक्षण हुँदै आएको छ । परीक्षणका लागि पोखरामा २ वटा प्रयोगशाला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण हुने गरेको छ । प्रतिष्ठानमा चैत तेस्रो साता र क्षयरोग उपचार केन्द्रमा असार पहिलो साताबाट परीक्षण सुरु भएको हो ।

‘कोरोना बोकेर आशीर्वाद लिन नजाऔं’

विनोदविन्दु शर्मा
प्रदेश स्वास्थ्य निर्देशक

अहिले काठमाडौंमा संक्रमण दर बढ्दो छ । २ महिना अगाडि भारतबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने आम मानिसको सोचाइ थियो भने अब काठमाडौंबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने अवस्था आयो ।

काठमाडौंबाट मानिस बाहिरिनु भनेको संक्रमण बाहिरिनु हो । अब गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण झनै बढ्छ । अब गम्भीर बिरामीको हेरचाह, उपचार गर्नेमा हामी केन्द्रित हुनेछौं ।

पहिला ल्याब टेस्ट कहाँ गर्ने भन्ने चिन्ता हुन्थ्यो, अहिले लक्षणसहितका बिरामीको व्यवस्थापनमा चुनौती छ ।

हामीले तीजका बेलामा जसरी निषेधाज्ञा लगाएर कोरोनाको दर रोक्यौं, दसैं तिहारमा पनि त्यस्तै गर्न सके कोरोना संक्रमण आधा रोक्न सकिन्छ । अहिलेको अवस्था रहने होभने दसैंमा रोक्न सकिँदैन । संक्रमण गाउँगाउँमा पुग्छ ।

दसैंभन्दा ८/९ दिन अगाडिदेखि नै मानिसको चहलपहल हुन्छ र दसैंको दिनमा नै धेरै संक्रमित फेला पर्छन् । अहिले हामीले ‘जहाँ छौं त्यहीँ दसैं मनाऔं’ नारा बनाउनुपर्छ ।

आर्शीवाद लिन कोरोना लिएर कहीँ पनि नजाऔँ । फोनबाटै आशीर्वाद लिऔँ । कोरोनाको लिएर कतै नगई जहाँ छौं त्यहीँ बसौं ।

तपाईको प्रतिक्रिया