धावनमार्ग निर्माण अन्तिम चरणमा

समाधान संवाददाता २०७७ असोज २९ गते ७:२४

गलकोट, रासस

कोभिड १९ र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम फेरी अगाडि बढेको छ ।

गत आर्थिक मसान्त २०७६/ ७७ भित्रै धावनमार्गको कालोपत्र गर्नकालागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोभिड १९ र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बनेको थियो ।

Advertisement

कालोपत्रका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माणकार्यले वर्षा रोकिए पछि फेरी गति लिएको हो ।

विमानस्थललाई १२ महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको थियो ।

Advertisement

अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले जानकारी दिए ।

‘हामीले शुरुमा कोभिड १९ र लगातारको वर्षाका कारण काम गर्न सकेका थिएनौं,’ थापाले भने, ‘वर्षा रोकिएपछि दुई हप्ता अगाडिदेखि निर्माणमा तीव्रता दिदाकटिङको काम सकिएको छ, ग्राभेल संकलन गरिरहेको र तिहारलगत्तै ग्राभेल गरिने छ ।’

अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ ।

सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ ।

आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने ठेकेदार कम्पनीको दाबी छ ।

धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले वहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी फागुनभित्र विमानस्थलको ७ सय मिटर लम्बाइ तथा २२ मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्नेगरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग ७ करोडमा ठेक्का सम्झौता गरेका थियो ।

कोभिड १९ र वर्षाका कारण निर्माणमा ढिलाइ भएकाले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रका लागि समस्या हुने देखिएको छ ।

विमानस्थलको धावनमार्ग र विमान पार्किङ कालोपत्रसँगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ ।

निर्माण कम्पनीका कारण कालोपत्रमा ढिलाइ नभएपनि कोभिड १९ र वर्षाका कारण समस्या भएपनि पछिल्लो समय निर्माणले गति लिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दीपक बगालेले जानकारी दिए ।

बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र दुई इन्च कालोपत्र गरिनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट फेरी सञ्चालन आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

तपाईको प्रतिक्रिया