‘खान रमाउनभन्दा मितव्ययी बनौं’

समाधान संवाददाता २०७७ असोज २९ गते ७:३४

समाधान संवाददाता, पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले विजया दशमीको अवसरमाबुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा कलाकार कल्याणकारी कोषको लागि १ लाख ७१ हजार प्रदान गर्ने प्रतिष्ठानका सल्लाहाकार चन्द्र खत्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, युनाइटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल केम्पो खुकुरी मार्सल आर्ट्सका उपाध्यक्ष दिलमाया गुरुङ,केन्द्रीय सचिव सुरेन्द्र गुरुङ,गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष भोजबहादुर गुरुङ लगायतलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकालीकोतर्फबाट दृष्टिविहीन २०जना कलाकारलाई दसै‌ खर्च स्वरुप जनही ३ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरियो। पोखरामा भएको प्रतिष्ठानको ७ औं केन्द्रीय महाधिवेशनलाई आर्थिक सहयोग गर्ने महानुभावलाई समेत कदरपत्र वितरण गरियो ।

कार्यक्रममा एभरेस्ट पोखरा लोक दोहोरी ताराका विजेता मिना बुढाथोकी लगायतका कलाकारलाई सम्मान समेत गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले लोक दोहोरी कलाकारहरुलाई समय परिस्थिति अनुसार चल्न सुझाव दिए ।

‘कोभिड १९को कहर र लकडाउनका कारण धेरै कलाकारको रोजीरोटी गुमेको छ, केही विस्थापति भएका छन,’अध्यक्ष बिजीले भने, ‘यस्तो अवस्थाका कलाकारहरुलेलाउने, खाने र रमाउनेभन्दा पनि मितव्ययिता अपनाउने हो ।’

कार्यक्रमको विषयवस्तुप्रति गम्भीर बन्नभन्दा पनि कलाकारहरु लाउन खानमा रसिक हुने, रंगिलो बन्ने प्रवृत्ति रहेको उल्लेख गर्दै अध्यक्ष बिजीले भोलिको कार्यक्रममा जानु छ भनेपछि आजैदेखि ड्रेस तयार पर्ने, जहाँ गयो भुल्ने रमाउने रातै बिताउने कामलाई सदाका लागि अन्त्य गर्न सुझाव दिए । अध्यक्ष बिजीले नैतिकवान र सच्चा श्रष्ठा बन्न सबैमा आग्रह गरे ।

सिंहदरबार समेत छिर्न नपाएको अवस्थामा अग्रज कलाकारहरुलाई राजपत्रांकित सरहको परिचयपत्र प्रदान गर्नथालेको जानकारी दिँदै उनले मान्यताप्राप्त संगीतालय खोल्नेदेखि प्रतिष्ठानलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न लागेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले बनाउने संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा क्षमतावान कलाकारलाई स्थान दिनु पर्ने सुझाव दिए ।

उनले कल्याणकारी कोषमा नीतिगत व्यवस्था गरेर संस्थागत रुपमा कलकारलाई सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिष्ठानका गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले प्रदेश समितिले कलाकार कल्याणकारी कोषलाई बढाएर ११ लाख ३२ हजार पु¥याएको बताए ।

उनले प्रतिष्ठानले ३ चरणमा गरेर १ सय ५३ कलाकारलाई ७ लाख बराबरको राहत वितरण गरेको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, सचिव राजन कार्कीले प्रतिष्ठानले दोहोरीका चुनौती, विकृति विसंगति न्यूनीकरणदेखि जग्गा खरिद गरेर भवन निर्माण गर्न लागेको बताए ।

तपाईको प्रतिक्रिया