खाद्य डिपोको औचित्य

समाधान संवाददाता २०७७ असोज २९ गते ८:३१

सम्पादकीय

मुस्ताङमा आउजाउका लागि सडक मार्ग थिएन । जहाज पनि त्यतिधेरै नउड्ने । उडे पनि सर्वसाधारणको पहुँचमा नहुने ।

धान खेती पटक्कै नहुने मुस्ताङमा चामलको अभाव त हुने नै भयो । आफ्ना नागरिकलाई भोकै राख्न हुन्न भनेर सरकारले जिल्ला जिल्लामा खाद्य संस्थानको डिपो राख्यो ।

Advertisement

सडक पहुँच नपुगेका जिल्लामा हेलिकोप्टरमार्फतै भए पनि चामल पु¥याएर भात खाने मेसो मिलाइएको थियो । हुन पनि चामल देख्दा खुसी हुने मुस्ताङीका लागि खाद्यको गोदामले निकै सहयोग पु¥याएको थियो ।

चामलको गुणस्तर कस्तो थियो, त्यो मतलबको कुरै भएन । त्यतिबेला चामल पाउनु नै अहो थियो ।

Advertisement

खाद्यले डिपो राख्नु अगाडि मुस्ताङीले भात खान पाउने अवस्था बेग्लै थियो । बेसीतिरबाट गएका तीर्थालुले लिएर गएको चामल बाँकी रहेको खण्डमा उतै बेच्ने चलन थियो । थोरै नै भए पनि चामल बेचेर मुस्ताङबाट तीर्थालुले जिम्मु र जडिबुटी झोलामा हालेर फर्कन्थे ।

अर्को हिउँद लागेपछि मुस्ताङीहरु चिसो छल्ल पहाडतिर झरेका बेला उनीहरुले पेटभरि भात खान्थे ।

हिमाली भेगमा हुने अन्न र भातमा हुने पौष्टिकताको त्यहाँ सवालै थिएन । भात खान पाउनु नै ठूलो थियो उनीहरुका लागि त्यतिबेला ।

हो, पहिला खाद्यको चामल लिन हानथाप हुने मुस्ताङमा अहिले खाद्यको चामल बिक्री नै हुँदैन । किनभने मुस्ताङीले खाद्यको चामल नै किन्नुपर्छ भन्ने वाध्यता हराएको छ ।

सडक सञ्जाल जोडिएपछि स्थानीय व्यपारीले टेलिफोन गरेकै भरमा पोखरा र अन्य सहरबाट चामलसहित खाद्यान्न मगाउन सक्ने अवस्था अहिले छ ।

खाद्यको चामल कम गुणस्तरको हुने मानसिकताका कारण कम आयस्रोत भएकाहरु पनि अलि बढी पैसा खर्चेर महँगो चामल किनेर खान थालेका छन् ।

अचम्मै त के भने अहिले खाद्यको चामल पशुचौपायालाई खुवाउन र घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुन थालेको छ ।

बाटोघाटो र अन्य कामका लागि पुगेका मजदुरहरुले खाद्यको चामल प्रयोग गर्ने गरेकामा अहिले कोरोना महामारीका कारण त्यो अवस्था पनि छैन ।

विदेशी डलर खर्चेर वा अनुदानमा बाहिरबाट आएको चामलको प्रयोग मदिरा बनाउन प्रयोग हुनु भनेको निकै दुखपूर्ण अवस्था हो ।

मुस्ताङको खाद्य डिपोबाट मा वार्षिक औसत १ हजार क्विन्टल चामल बिक्री हुने गरे पनि यो वर्ष अझै कम हुने पक्कापक्की भएको छ । खाद्यको गोदाममा अहिले ३६ क्विन्टल चामल बाँकी छ ।

यो आर्थिक वर्षका लागि १ हजार क्विन्टल सोना मन्सुली चामलका लागि खाद्य विभागबाट टेन्डर स्वीकृत भएको छ । खाद्य कम्पनीले प्रति क्विन्टल ४ हजार ३ सय ५० रुपैयाँमा चामल बिक्री गरेको छ ।

उहिले र अहिलेको अवस्था फेरिएको छ । अब खाद्यका यस्ता डिपोबारे सरकारले सोच्ने बेला आएको छ । सरकारलाई बोझ हुने गरी राखिने यस्ता संरचनाको औचित्य छैन भने खारेज गरिदिए भइहाल्यो नि ।

हैन भने जसरी हुलाकको काममा परिमार्जन गरिएको छ । खाद्यको हकमा पनि त्यसै गर्न सकिन्छ ।

बाहिरबाट चामल लगेर बेच्ने मात्र होइन मुस्ताङमा उत्पादित फलफूल र अनाजको बजारीकरणका लागि खाद्यलाई प्रयोग गरे के बिग्रन्छ र ?

यसो गर्दा मुस्ताङका किसानले बिचौलिया झेल्नु पनि पर्दैन । उपभोक्ताले पनि मुस्ताङको स्वच्छ उत्पादन प्रयोग गर्न पाउँछन् ।

तपाईको प्रतिक्रिया