म्याग्दीमा जथाभावी पहाड उत्खनन

समाधान संवाददाता २०७७ असोज २९ गते ११:२८

रासस, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा उत्खनन भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन भएको हो ।

Advertisement

पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतीदान–जयमाता जेभीले पहाडबाट आफूखूशी मनपरि शैलीमा ढुङ्ग उत्खनन गरेको स्थानीयवासीले बताएका छन् ।

पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको बिरौटा टोल सुधार समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए ।

Advertisement

सो ठाउँको ढुङ्गा स्थानीयका घर, सार्वजनिक भवन निर्माणमा पनि प्रयोग हुने गरेको छ ।

‘सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्ताउन खोजिएको छ,’ उनले भने, ‘वातावरणीय असरको अध्ययन र राजस्व नतिरी उत्खनन गरिरहेको ठेकेदारले क्रसर राख्न खोजेकोमा हाम्रो आपत्ति छ ।’

विसं २०७६ भदौमा वडाध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने आठ मिटर र चार मिटर भित्रबाट ढुङ्गा निकाल्न दिने सहमति भएको तर ठेकेदारले सहमतिविपरीत जङ्गल मासिने, पहिरो चल्ने गरी धेरैभित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको स्थानीय बहुतबहादुर बरुवालले बताए ।

जथाभावी र अव्यवस्थित उत्खनन रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तर्गत पोखरेबगरदेखि घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको हालसम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।

कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा गत चैतदेखि काम रोकेको ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ ।

हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रेसमेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।

कोरोना भित्रने कारण देखाएर जनप्रतिनिधिले बाहिरबाट मजदूर ल्याउन नदिएको, आयोजनाले पहिरोका कारण सिर्जित अतिरिक्त कामको मूल्यांकन र भुक्तानीमा ढिलाइ गरेकाले काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि भुसालको भनाइ छ ।

तपाईको प्रतिक्रिया