बाग्लुङका सेना र प्रहरीमा संक्रमण बढ्दो

बाग्लुङ, रासस
नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ ।
बिहीबार मात्रै बागलुङ जिल्लामा कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो ।
त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ
संक्रमण पुष्टि भएको थियो ।
नेपाल प्रहरीमा पनि संक्रमित थपिँदै गएका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार
संक्रमण पुष्टि भएको हो ।
बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
संक्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ ।
केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २०० सङ्क्रमित थपिएका छन् ।
प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए ।
यात्रा विवरण नभएका र संक्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ संक्रमित छन् ।
क्वारेन्टिनमा रहेकाको सङ्ख्या ५६ छ । हालसम्म ८ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् ।
कोरोना संक्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ ।
यस्तै पिसीआर जाँचमध्येमा ५.०९ प्रतिशत सङ्क्रमण दर रहेको कार्यालयले जनाएको छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ संक्रमणको घटना थियो ।
जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको थियो ।
अस्पतालमै पिसिआर जाँच गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताए ।
उनमा कोभिड–१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको जनाइएको छ ।
यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोना लागेर ज्यान गएको थियो ।
मृगौला र फोक्सोको समस्याबाट ग्रसित युवकको भारतबाट आई क्वारेन्टिनमा बसिरहेका बेला निधन भएको थियो ।
तपाईको प्रतिक्रिया