आधा घन्टा हिँडेर फोन गर्छन् आँबुखैरेनीका बासिन्दा

समाधान संवाददाता २०७७ असोज ३० गते ११:३८

तनहुँ, रासस

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन ।

त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ ।

Advertisement

समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए ।

हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युतले छुन नसक्दा ओझेलमा परेको उनले बताए ।

Advertisement

आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताए । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् ।

वडाध्यक्ष गुरुङले भने, ‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।

उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो,’ उनले भने, ‘सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।’

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए ।

चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए ।

गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ ।

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया