पोखराको लाइफकेयरले सुरु गर्यो कोरोना परीक्षण, १ दिनमै रिपोर्ट दिने

समाधान संवाददाता, पोखरा
पोखरा न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना परीक्षण सुरु गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट ४ दिन पहिले कोरोना परीक्षणलाई अनुमति पाएको ल्याबले शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरेको हो ।
लाइफकेयर कोरोना परीक्षणका लागि अनुमति पाउने गण्डकी प्रदेशको पहिलो निजी ल्याब हो ।
परीक्षणका लागि १ करोड बराबरको मेसिन जडान गरिएको ल्याबका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए ।
स्वाब संकलन गरेको २४ घन्टाभित्र आफूहरुले रिपोर्ट दिने र राज्यले तोकेको शुल्क लिने उनले बताए ।
‘संकटमा राज्यलाई साथ दिनु सबैको दायित्व हो । हामीले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भनेर सुरु गरेका हौं,’ प्रबन्ध निर्देशक कँडेलले भने, ‘सरकारले २ हजारमा गर्न भनेको छ । त्यहाँभन्दा बढी लिन्नौं ।’
बिहान ९ देखि १२ बजेसम्म स्वाब संकलन गरिने संचालक कँडेलले जानकारी दिए ।
कोरोना परीक्षण गर्दा ल्याबले प्रदान गर्ने अन्य टेस्ट प्रभावित नहुने प्रबन्ध निर्देशक कँडेलले सुनाए । ल्याबबाट प्रदान हुने अन्य सेवा दिन छुट्टै कर्मचारी व्यवस्था गरिएको छ ।

‘पहिले दिँदै आएको सेवा यथावत छ । कोरोना परीक्षण अन्डरग्राउन्डमा भएकाले डराउनुपर्दैन,’ कँडेलले भने, ‘अन्डरग्राउन्ड जान छुट्टै बाटो छ । माथि र तल ल्याबमा काम गर्ने कर्मचारी पनि फरक फरक हुनुहुन्छ ।’
कोरोना परीक्षण गर्न अहिले १५ जना जनशक्ति खटिएका छन् । अत्यावश्यक परेमा ३ घन्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने संचालक डा अमर नागिलाले बताए ।
दैनिक ३ सय स्वाब संकलन गरेर परीक्षण गर्न सक्ने डा नागिलाले जानकारी दिएका छन् । कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने) ल्याबमा राखिएको छ ।
५ वर्ष अगाडिबाट पोखरामा संचालित ल्याब प्रदेशकै एकमात्र क वर्गको प्याथोलोजी ल्याब हो ।
उक्त ल्याबले कोरोना परीक्षण गर्न आवश्यक पिसिआरलगायत अन्य मेसिन जडान गरेपछि २९ भदौमा अनुमति मागेको थियो ।
लाइफकेयरबाहेक प्रदेशमा कोरोना परीक्षणका लागि २ सरकारी प्रयोगशाला छन् । कोरोना परीक्षण गर्ने दुवै ल्याबमा स्वाबको संख्या बढ्दा चाप बढेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण हुन्छ ।
पे–क्लिनिक संचालन गरेको प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्न लाइन बस्नुपर्ने बाध्यता छ ।
स्वाबको चाप बढे पनि जनशक्ति थप्नेतर्फ कसैको ध्यान नगएको प्रतिष्ठानको प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ ।
तपाईको प्रतिक्रिया