बिक्री छैन च्यांग्राको

समाधान संवाददाता २०७७ असोज ३० गते २१:२४

अनुप आत्रेय, पोखरा

वर्षको एकपटक दसैंतिहारमा भेडाच्यांग्रा पोखरा झारिन्छ । वर्षमा एकपटक भेडाच्यांग्रा खानुपर्ने पोखरेलीको ‘सेड्युल’ नै बनिसकेको छ । स्वस्थ र मासु पनि स्वादिलो हुने भएकाले भेडाच्यांग्रा रुचाइने गरेको छ ।

गत वर्ष दसैंमा २५ हजारभन्दा बढी भेडा च्यांग्रा पोखरा झरे । यो वर्ष त्यसको ४० प्रतिशत खपत हुने व्यवसायीको अनुमान छ । कोरोनाका कारण योबेला कुनै कार्यक्रम नभएको र च्यांग्रामा पहिलेजस्तो चासो नदेखिएको व्यवसायी बताउँछन् ।

पोखरामा मुस्ताङ, डोल्पा, मुगु, दार्चुला र तिब्बतका भेडाच्यांग्रा पोखरा ल्याइने गरेको छ । २५ प्रतिशत भेडा च्यांग्रा तिब्बतबाट ल्याइन्थ्यो । कोरोना संक्रमणको डरले सीमा नाकामा गरिएको कडाइले यो वर्ष तिब्बतबाट भेडा च्यांग्रा आएन ।

स्वदेशी उत्पादन बजारमा आए पनि माग कम रहेको खसीबोका व्यवसायी संघ कास्कीका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ बताउँछन् । ‘पूरै झरिसकेका छैनन् । यो वर्ष ८ हजार भेडाच्यांग्रा आउने अनुमान छ,’ उनले भने, ‘अहिले ६ हजार जति आइसके । केही गाडी आउँदै छन् ।’

पोहोर परार स्टक रहला भन्ने हुँदैनथ्यो । लेकबाट झारिएका भेडाच्यांग्रा फूलपातीसम्म सकिन्थ्यो । ‘पोहोरको तुलनामा २ प्रतिशत पनि व्यापार छैन । यो वर्ष ल्याएको भेडाच्यांग्रा रहने हो कि भन्ने चिन्ता छ,’ अध्यक्ष श्रेष्ठले भने ।

पोखरामा यो वर्ष ८ हजार खसीबोका आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । पोखरामा नेपालगन्ज, सुर्खेत, दाङ, धनगढी लगायत ठाउँबाट खसीबोका ल्याइने गरेको छ ।

हिमाली जिल्ला र तिब्बतबाट झर्नेमध्ये ८० प्रतिशत भेडाच्यांग्रा पोखरामै खपत हुने गर्छ । च्यांग्रा लिन कास्की, स्याङ्जा, बाग्लुङ, काठमाडौं लगायत जिल्लाका व्यवसायी मुस्ताङ पुग्ने गरेका छन् ।

मुस्ताङबाट हिँडाएर र ट्रकमा हालेर च्यांग्रा पोखरा ल्याइने गरेको छ । ट्रकमा हालेर ल्याउँदा निस्सासिएर मर्ने भएकाले धेरैजसोले चाहिँ १० देखि १५ दिन हिँडाएरै च्यांग्रा पोखरा ल्याउँछन् ।

मुस्ताङका निशान श्रेष्ठको दिनरात अहिले कागबेनीबाट ल्याइएका च्यांग्रा कुरेर बितिरहेको छ । बेनीबाट ट्रकमा हालेर व्यापारीले पोखरा ल्याएका च्यांग्राको हेरालो हुन् उनी ।

‘बेनीसम्म ७दिन लगाएर कागबेनीबाट ल्यायौं । त्यहाँबाट ट्रकमा हालेर ल्याएको ८ दिन भयो,’ उनले भने, ‘बेनीमा ८÷१० वटा बेच्यौं । यहाँ अस्ति एउटा गयो ।’ प्रतिच्यांग्रा ३४ देखि ३८ हजारसम्म पर्ने श्रेष्ठले सुनाए ।

कसरी सुरु भयो च्यांग्रा चलन ?

पोखराको टुडिखेलमा च्यांग्रा बेच्न बजार नै लाग्ने गथ्र्यो । दसैंतिहारमा च्यांग्रा खाने प्रचलन कसरी सुरु भयो भन्ने थाहा छैन । तर हरेक दसैंतिहारमा च्यांग्रा खानुपर्छ भन्ने प्रचलन भइसक्यो । कहिलेबाट च्यांग्रा बेसी झार्ने र खाने प्रचलन सुरु भयो भन्न गाह्रो छ ।

‘धर्म गर्न मुक्तिनाथ गएकाबेला फर्किंदा ल्याउने गर्थे भन्ने अनुमान छ,’ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘चीनले तिब्बत अतिक्रमण गरेपछि भागेका तिब्बतीले च्यांग्रा लिएर आए भन्ने पनि छ । तर ठ्याक्कै कसरी सुरु भयो भन्न सकिन्न ।’

पोखरेलीले च्यांग्राको स्वाद अरु ठाउँका बासिन्दासम्म पु¥याएको श्रेष्ठको बुझाइ छ । दसैंतिहारमा च्यांग्राको मासु पोखराको विशेषता बनेको उनी बताउँछन् ।

‘पहिला पोखराको टुँडिखेलमा च्यांग्रा ल्याएर मोलमोलाइ गर्ने हुन्थ्यो,’ संस्कृतिकर्मी श्रेष्ठ भन्छन्, ‘पछि पोखरेलीहरु चितवन गए, त्यसले यहाँबाट च्यांग्रा लैजाने चलन चल्न थाल्यो । बुटवल गए, त्यहाँ पनि यहाँबाटै लैजाने चलन आयो ।’

ठगिने डर उस्तै

भेडाच्यांग्रा किन्दा ठगिने सम्भावना पनि उत्तिकै हुन्छ । भाले च्यांग्रा र पोथी च्यांग्राको मूल्य फरकफरक हुनुपर्ने भएकाले खरिद गर्दा लिंग पहिचानमा ध्यान दिनुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । मूल्य निर्धारणमा भने समस्या रहँदै आएको उनले बताए ।

‘माथिबाट ल्याउँदा खरिद बिल हुन्न । व्यवसायीले भनेकै मूल्य पत्याउनुपर्ने अवस्था छ,’ कोइरालाले भने ।

प्रहरी र ठाउँठाउँमा तिर्नुपर्ने करले व्यवसायी समस्यामा परेका छन् । ‘व्यवसायीसँग बुझ्दा ठाउँठाउँमा कर बुझाउँदा मूल्य १ हजारसम्म महँगो पर्छ भन्नुहुन्छ,’ कोइरालाले भने, ‘राज्यलाई एकपटक मात्रै कर तिर्ने हो । ठाउँठाउँमा तिरेर सम्भव हुँदैन ।’

कसरी चिन्ने स्वस्थ भेडाच्यांग्रा ?

डा. शोभा शर्मा
पशु चिकित्सक

राम्रोसँग खाइरहेको छ, टाठो देखिन्छ, रक्तअल्पता छैन भने त्यो पशु स्वस्थ छ भन्ने बुझ्न सकिन्छ । त्यसबाहेक राम्रोसँग हिँडिरहेको छ, नाक सुख्खा छैन भने त्यो स्वस्थ हुन्छ । तर पशुको भित्र परजिवी हुन सक्छ, अरु रोग हुनसक्छ । त्योचाहिँ जाँच गरेर नै भन्नुपर्ने हुन्छ ।

देख्दा स्वस्थ देखिने कुनै पशु परीक्षण गर्दा स्वस्थ नहुने सम्भावना पनि हुन्छ । मासु जाँच ऐन अन्तर्गत पशुको पोस्टमार्टम पनि हेर्नुपर्छ । नेपालमा यसको अभ्यास भने छैन ।

पोस्टमार्टम गरेर, पशुको बासस्थान हेरेर उनीहरुको अंगसमेत जाँच्छौं । पशुको टाउको, फोक्सो, कलेजो सबै जाँचेर मात्र मासु खान उपयुक्त भए÷नभएको पत्ता लगाउँछौं । एउटा साधारण खसी बोका किन्न जाँदा पनि हामी बाहिरी अवस्था हेर्छौं ।

नेपालमा भने परीक्षण गरेर मासु खान हुने नहुने पुष्टि गर्ने चलन छैन । मासु ऐन पनि कार्यान्वयन भएको छैन । नगरपालिकाले मासु ऐन कार्यान्वयन गराउनु पर्ने हो ।

सो ऐनले भेटेरिनरी डाक्टरले मासु खानका लागि उचित छ भनेर पुष्टि गरेपछि मात्र बेच्न पाइने नियम छ । ऐन अनुसार मासु पसलको पनि निरीक्षण गर्छौं । दसैंमा हामीले गाउँमा गएर मासु काटेर खाने चलन रहेकोले त्यसबखत कम्तीमा स्वस्थ पशु किनेर मात्र खानु पर्छ ।

तपाईको प्रतिक्रिया