काठमाडौं लगिएकी महिलाको मृत्यु, कोरोना आशंकामा वारागुङको सेवा बन्द

समाधान संवाददाता २०७७ असोज ३० गते २१:५०

एसके थकाली, जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १ साताका लागि अत्यावश्यकबाहेक सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीकी स्थानीय महिलामा कोरोना पोजेटिभ भएको आशंका गर्दै पालिकाले दिने सेवा सुविधा १ साताका लागि स्थगित गरेको हो ।

Advertisement

वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी घर भई काठमाडौं बस्दै आइरहेकी ५२ वर्षीया महिला २७ असोजमा मुस्ताङ आएकी थिइन् । बिमार परेपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल लगियो । बिहीबार राति उनको मृत्यु भयो ।

गाउँपालिकाले कागबेनीमा कन्ट्याक ट्रेसिङ गरी थप केही व्यक्तिहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले स्वास्थ्यबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले उपचारका लागि काठमाडौं पुर्‍याइएकी महिलामा कोरोना पोजेटिभ देखिएको अनौपचारिक जानकारी आएको बताइन् ।

स्वास्थ्यसम्बद्ध कार्यालयले कुनै जानकारी नगराएको उनले बताइन् ।

कोरोनाबाट मृत्यु भएको औपचारिक पुष्टि हुन बाँकी रहे पनि सर्तकता अपनाउन निर्देशन दिएको बताइन् ।

तपाईको प्रतिक्रिया