दबाबमा नपरी काम गर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

समाधान संवाददाता, पोखरा
नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवमा गण्डकी प्रदेश प्रहरीले श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लीन रहेको भन्दै प्रशंसा गरे ।
कानुन विपरीतका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न उनले निर्देशन पनि दिए ।
समय र प्रविधिको विकाससँगै अपराध र आपराधिक कार्यविधिमा समेत परिवर्तन भइरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त बनाउँदै जाने प्रतिबद्धता उनले जनाए ।
दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने भन्दै उनले प्रदेश प्रहरीको समुन्नत विकासका लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले सहिदले देखेका सपना साकार पार्न र गरेको योगदानलाई स्मरण गरी सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु पर्नेमा जोड दिए ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षा गर्ने आफ्नो मूलभूत दायित्वलाई आत्मसात गर्दै राष्ट्र सामु आइपरेका गम्भीर चुनौती एंव संकटको घडीमा समेत कत्ति पनि अविचलित रहि कार्यसम्पादन गर्दै आएको बताए ।
कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई, उच्च मनोबलका साथ अत्यन्त व्यवसायिक ढँगले प्रस्तुत भई, नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी प्रहरी सेवा प्रवाह गर्न कटिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम प्रदान गरिएको थियो ।
प्रदेश प्रहरीको वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा छनौट भएको जिल्ला प्रहरी कार्यालय तनहुँ, उत्कृष्ट कार्यालय व्यवस्थापनतर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले नगद र पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट प्रहरी कार्यतर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, उत्कृष्ट कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम विकलाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता डा. राजेन्द्र घिमिरे, प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयका सचिव, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, अमर प्रहरी परिवार, पूर्व प्रहरी संगठनका पदाधिकारी लगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया