दूधको मूल्य नपाएको किसानको गुनासो

समाधान संवाददाता २०७७ कार्तिक १ गते ९:४३

समाधान संवाददाता, स्याङ्जा

वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दूधको मुल्य नपाएको गुनासो गरेका छन् ।

नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका सहभागीहरुले दूधको उचित मूल्य नपाएको गुनासो गरेका हुन् ।

Advertisement

तालिमपछि आयोजित अन्तक्रियामा वालिङ दुग्ध उत्पादन समितिका सचिव टीकाराम रेग्मीले पहाडी क्षेत्रमा लागत धेरै पर्ने र सोही अनुसार मूल्य कायम हुनुपर्ने धारणा राखे ।

उत्पादनका आधारमा अनुदान रकम दिने व्यवस्था गर्नुपर्नेमा सचिव रेग्मीको जोड छ ।

Advertisement

उनले थपे, ‘छिमेकी मुलुकहरु भारत र चीनमा कृषकहरुलाई राज्यले गर्ने व्यवहार नेपालमा पनि अनुशरण गर्नु जरुरी छ ।’

दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषक तथा उद्यमीहरुको हितका लागि वालिङमा कार्यक्रम सुरु गरिएको बताइन् ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि तालिमको आयोजना गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।

तालिमका वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख देवकुमारी श्रेष्ठ र डोलराज गैह्रेले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया