दिल्लीकाे दवदवा कायमै, हार्‍याे चेन्नई

समाधान संवाददाता २०७७ कार्तिक २ गते ९:०७

एजेन्सी

दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।

Advertisement

सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए ।

Advertisement

यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अन्तमा अक्षर पटेलले विष्फाेटक ब्याटिङ गर्दै २१ रनमा अविजित रहेर दिल्लीलाई जिताए ।

रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका हुन् ।

चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।

चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् ।  उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन् । 

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो । 

दिल्लीले चेन्नईलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । सिजनको पहिलो भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो ।

चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया